भारतले पशुपतिनाथ-वैद्यनाथधाम जोड्न हाई-स्पिड करिडोर बनाउने


४ फागुन, काठमाडौं । भारत सरकारले पशुपतिनाथ र बैजनाथधाम जोड्न नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ । नेपालको काठमाडौंमा रहेको पशुपतिनाथ र भारतको झारखण्डको देवघरस्थित बैजनाथधामसँग जोड्न भारत सरकारले नयाँ करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको हो ।

भारतको केन्द्र सरकारले भागलपुर हुँदै जाने यो नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिइसकेको छ ।

यो जानकारी बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत मंगलबार विधानसभामा दिएका हुन् । सन् २०२६/२७ को बिहारको बजेटमा यो सडक निर्माणका लागि ८२ अर्ब ६० करोड भारु विनियोजन गरिएको छ ।

‘प्रस्तावित करिडोर पशुपतिनाथ-वैद्यनाथ हाई-स्पिड करिडोर काठमाडौंबाट सुरु हुनेछ र भीमनगर, वीरपुरहुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ,’ मन्त्री जैसवालले भने, ‘त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथ धामसम्म पुग्नेछ ।’

प्रस्तावित ‘पशुपतिनाथ–सुपौल–वैद्यनाथधाम करिडोर’ सुल्तानगञ्ज-अगुवानीघाटमा गंगा नदीमाथि बनिरहेको पुल भएर गुज्रिनेछ, जसको निर्माण कार्य जारी छ । यो करिडोर करिब २४० किलोमिटर लामो हुने बताइएको छ ।

करिब सात महिना अगाडि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी यो करिडोर प्रस्ताव गरेका थिए । श्रावणी मेला र काँवर यात्राका क्रममा ठुलो संख्यामा श्रद्धालुहरू सुल्तानगञ्जबाट जल लिएर पैदल बैजनाथधाम जान्छन् । कतिपय भारतीय तिर्थयात्रीहरू पशुपतिनाथ मन्दिर दर्शनका लागि पनि आउँछन् । यो करिडोर बनेपछि श्रद्धालुहरूका लागि सुरक्षित र सहज यात्रा सुनिश्चित हुने र धार्मिक पर्यटक बढ्ने विश्वास गरिएको छ ।

यस करिडोरमा पैदल यात्रीका लागि विशेष ‘सर्भिस रोड’ समेत बनाउने योजना छ, जसले नांगो खुट्टा हिँड्ने श्रद्धालुहरूलाई राहत दिनेछ । यस परियोजनाले बिहार, नेपाल र झारखण्डबीचको धार्मिक पर्यटन मात्र नभई व्यापारिक र आर्थिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

भागलपुरका जिल्ला अधिकारी (डीएम) डा. नवल किशोर चौधरीका अनुसार यस परियोजनाको मार्गचित्र तयार भइसकेको छ । मन्त्रालयबाट विस्तृत प्रस्ताव प्राप्त हुनासाथ यसको कार्यान्वयन सुरु गरिने अधिकारीहरूले जनाएका छन् ।


प्रकाशित मिति : २०८२ फाल्गुन ४, सोमबार गते

धेरै पढिएको

ताजा समाचार