फागुन २१ को निर्वाचनका लागि ७७ जिल्लामा ७०० पर्यवेक्षक परिचालन


आगामी फागुन २१ गते हुन गइरहेको चुनावमा निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७०० जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ।

प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरेको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ।

समितिका अनुसार स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको छ। यसअन्तर्गत ४० जना दीर्घकालीन पर्यवेक्षकहरूले निर्वाचनका सम्पूर्ण विधि र प्रक्रियाको नजिकबाट अनुगमन गरिरहेका छन्।

पर्यवेक्षकहरूले निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, उम्मेदवार, सार्वजनिक पदधारण गरेका व्यक्ति, सञ्चारकर्मी, सामाजिक संघसंस्था तथा मतदातालगायत सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै निर्वाचन आचारसंहिता पालना भए–नभएको, प्रचारप्रसार खर्च र त्यसको स्रोतबारे गहिरो अध्ययन गरिरहेका छन्।

समितिले कानुनसम्मत रूपमा शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मर्यादित, मितव्ययी तथा भयरहित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सकारात्मक योगदान आवश्यक रहेको उल्लेख गरेको छ।


प्रकाशित मिति : २०८२ फाल्गुन १, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार