यात्राको पहिलो ध्वनि बुधबार बेलुकी यहाँस्थित भुटनदेवी विद्यालयको मैदानमा गुञ्जिँदा हजारौंको संख्यामा उपस्थित दर्शक श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका थिए ।
केही समययता ब्याण्डले नियमित प्रस्तुत गर्दै आएको गीतक्रममा परिवर्तन गर्दै ‘हो रामा रामा’बाट कन्सर्टको थालनी गरिएको थियो ।
अघिल्ला प्रस्तुतिमा मध्यक्रममा रहने गरेको यो गीतले शुरूदेखि नै मैदानलाई गतिशील तुल्याएको देखिन्थ्यो । त्यसपछि ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ हुँदै कन्सर्ट अघि बढेको थियो ।
कार्यक्रमस्थलमा दर्शकको अग्रपंक्तिमै रहेकी मान्यता सापकोटा यस्तो सांगीतिक कार्यक्रमले शहरै रमाइलो पार्ने बताइरहेकी थिइन् । उनका अनुसार नेपथ्यको कन्सर्ट चाहिँ छुटाउने गरेकी छैनन् ।
‘चार वर्षअघि हेटौंडामा नेपथ्य उपस्थित हुँदा म बुवाको साथ आएकी थिएँ,’ स्थानीय कृष्णमन्दिर छेवैमा घर भएकी स्नातक प्रथम वर्षकी विद्यार्थी मान्यताले भनिन्, ‘त्यतिबेला ढिलो आएकोले धेरै गीत छुटेकै कारण यसपाला समयमै मैदानमा प्रवेश गरेँ र अगाडिकै लहरमा ठाउँ पाएँ ।’
साथी श्रीना ढुंगेल र बहिनीलाई पनि साथमा लिएर आएकी मान्यता कन्सर्टमा शुरूदेखि अन्तिमसम्मै नृत्यरत देखिन्थिन् ।
यता कार्यक्रमले ‘लामपाते सुरती’पछि पनि पुरानै गीत ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’बाट निरन्तरता पाइरहेको थियो । त्यसपछिको क्रममा दर्शकलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले धौलागिरितिर आफूले यात्रा गर्दा तयार पारेको गीत सुनाए:
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’
उनले कर्णाली भेगको दुःख र त्यसकै बीच पनि सन्तोष मानेर बाँचिरहेका बासिन्दाको खुशी अनुभव गर्न त्यसतर्फको यात्रा पनि जरुरी रहेको औंल्याउँदै भर्खरै तयार पारेको गीत ‘कर्नालीका छाइला’ पनि सुनाए ।
‘यो संसारमा थोरै राम्रा मानिसको मानवीयताले गर्दा धेरै मानिसले बाँच्ने मौका पाइरहेका छन्,’ अमृतले दर्शकलाई अनुरोध गर्दै भने, ‘तपाईंहरूको छेउछाउमा स्कूल जान नपाएका बालबालिका छन् भने उनीहरूलाई शिक्षाको उज्यालोसम्म नजिक्याएर पुण्य कमाउन नछुटाउनुस् है ।’
यसै क्रममा ब्याण्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाइएको थियो ।
कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा हेटौंडाको भुटनदेवी स्कूल मैदानमा भरिएका अधिकांश दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।
कार्यक्रमको अन्त्यतिर ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो ।
‘हेटौंडाले फेरि एकपटक आफूलाई नेपथ्यप्रेमी सावित गरेको छ,’ आयोजक समूह रमाइलो इभेन्ट्सका शिवम् शर्मा भन्दै थिए, ‘कार्यक्रम भव्य मात्र नभई व्यवस्थित तवरले सम्पन्न गर्न पाएकोमा सबैलाई धन्यवाद दिन्छौं ।’
गायक अमृतले आफूलाई सघाउने साथीहरू ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीको परिचय गराएका थिए ।
हेटौंडाको कन्सर्ट सम्पन्न भएपछि नेपथ्य टोली बुटवल हिँडिसकेको छ । त्यहाँस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रामनगर’ परिसरमा माघ २४ गते शनिबार ब्याण्डको प्रस्तुति रहनेछ । त्यसपछिको यात्रा क्रमशः नारायणघाट र बन्दीपुर तर्फको हुनेछ ।

