टिकटकबाट फिल्म हिरोइनसम्म, आकृति राजभण्डारीको ‘कुमारी’बाट डेब्यु


पछिल्लो समय कलाकारितामा प्रवेश गर्नका लागि सहज माध्यम बनिरहेका छन् सामाजिक सञ्जाल प्लेटफर्महरू । हिजो कलाकारिता, त्यसमा पनि फिल्म क्षेत्रमा प्रवेश पाउनु फलाको चिउरा चपाउनु सरह कठिन मानिन्थ्यो भने आज टिकटक, इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा आफ्नो प्रतिभा देखाउनेहरू सहज ढंगले यस क्षेत्रमा प्रवेश पाउन सक्छन् ।  तीमध्येकै हुन् आकृति राजभण्डारी ।

आकृति यतिबेला टिकटकमा सीमित छैनन् । उनी अब फिल्मको हिरोइन बनिसकेकी छिन् । उनलाई हिरोइन बनाउन काम निर्देशक दिनेश राउतले गरेका छन् आफ्नो ड्रिम प्रोजेक्ट ‘कुमारी’ मार्फत । उनी यसै फिल्मबाट रजतपटमा डेब्यु गर्दैछिन् ।

‘कुमारी’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन तिमी नजिकिँदै गर्दा उनी प्रचारप्रसारमा व्यस्त छिन् । डेब्यु फिल्मलाई लिएर उनलाई उत्साह र डर दुवै छ ।ठुलो पर्दामा पहिलो पटक आफू देखिन पाउनुको खुसी शब्दमा वर्णन गर्न सक्दिनँ’, रातोपाटीसँगको कुराकानीमा उनी भन्छिन्, ‘कतिले वर्षौं संघर्ष गर्दा पनि यस्तो अवसर पाउँदैन । मैले त छिट्टै पाएकी छु ।’ बरु आफ्नो आगामीलाई दर्शकले कसरी लिने हुन् भन्ने कुराको एकदमै डर रहेको उनी सुनाउँछिन् ।

‘कुमारी’मा उनी प्रेमीकोको भूमिकामा छिन्, जो अरूको कारणले सानैदेखि दुःख पाएकी हुन्छिन् । फिल्मको आफ्नो चरित्रले दर्शकको मन छुनेमा उनी विश्वस्त छिन् ।

नयाँ कलाकारका लागि पहिलो फिल्मको छनोट निकै चुनौतीपूर्ण हुन्छ । उनलाई पनि त्यस्तै भएको थियो । ‘कुमारी’अघि पनि उनलाई धेरै फिल्मका अफर थिए । तर कुनैको कथा नमिलेको त कुनैको क्यारेक्टरमा चित्त नबुझेकाले उनले अस्वीकार गरिन् । तर जब ‘कुमारी’को स्क्रिप्ट उनको हातमा पर्‍यो, उनले नाइँ भन्न सकिनन् ।

‘कुमारीमा सबै कुरा एकदमै राम्रो थियो’, उनी भन्छिन्, ‘मेरो क्यारेक्टरको जर्नी, उसको कथामा फिल्म अडेको थियो । त्यसैले छोड्न मन लागेन ।’ टिम मेम्बर्सहरू सबै राम्रो भएकाले पनि फिल्म रोजाइमा परेको उनी बताउँछिन् । भन्छिन्, ‘विशेषगरी फिल्ममा मेरो पात्रले बोक्ने भावना र उसको यात्राले आकर्षित गर्‍यो ।’ ‘कुमारी’को कथा भने उनी खुलाउन चाहँदिनन् ।

आकृति टिकटकबाट म्युजिक भिडियो हुँदै फिल्ममा होमिएकी हुन् । त्यसैले क्यामरा अगाडि अभिनय गर्नु उनका लागि नौलो थिएन । तर फिचर फिल्मको सेटमा पुग्दाको अनुभव भने फरक लाग्यो । ‘म्युजिक भिडियो एक वा दुई दिनमा सकिन्छ, हल्का लिपसिंक र डान्स भए पुग्छ । फिल्ममा डेप्थ अभिनय चाहिन्छ,’ उनी भन्छिन् ।

सुरुमा फिल्मको काम कति गहिरो हुन्छ भन्ने उनलाई त्यति आइडिया थिएन । ‘फिल्मको मेकिङ, क्यारेक्टरमा डुब्नुपर्ने प्रक्रिया म्युजिक भिडियोसँग तुलना नै गर्न नमिल्ने रहेछ’, उनी अनुभव सुनाउँछिन्, ‘फिल्म मेरा लागि एउटा ठुलो स्कुलिङ जस्तै भयो ।’

फिल्ममा उनी अभिनेता अभिषेक खड्काको जोडी बनेकी छिन् । अभिषेक फिल्मका लागि नयाँ भएपनि थिएटर ब्याकग्राउण्डका हुन् । अभिषेकसँग काम गर्दा उनलाई धेरै सिक्न र बुझ्न सहज भयो । ‘कुमारी’लाई लभस्टोरी फिल्म भनेर प्रचार गरिएको छ । तर आकृति यसलाई टिपिकल लभस्टोरी मात्र मान्न तयार छैनन् । उनका अनुसार यो फिल्मले प्रेमकथाका साथै सामाजिक मुद्दा र भावनात्मक विषय समेटेको छ ।Aakriti Rajbhandari (7)

यो युवक र युवतीबिचको प्रेम मात्र होइन, कतिपय यस्ता सामाजिक इस्युहरू पनि छन् । जसलाई हामीले उठाउने प्रयास गरेका छौं,’ उनी भन्छिन्, ‘युवापुस्ता मात्र होइन, सबैको कथा यसले समेटेको छ ।’ कतिपय व्यक्तिका लागि फिल्मले मार्गनिर्देश समेत गर्ने उनी खुलाउँछिन् ।

नेपाली फिल्म उद्योगमा निर्देशक राउतलाई एउटा ‘ब्राण्ड’को रूपमा चिनिन्छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता हिट लभस्टोरी फिल्म दिएका उनले सामाजिक कथामा पनि ‘प्रकाश’, ‘पुजार सार्की’ जस्ता सम्झनलायक थुप्रै फिल्म दिएका छन् । दिनेशसँग पहिलो फिल्मकै काम गर्न पाउनु आकृतिका लागि एक किमिमले भाग्य हो । त्यो उनले पनि बुझेकी छिन् । त्यसैले सुरुमा निर्देशक राउतसँग काम गर्दा उनलाई निकै डर लागेको थियो ।

‘बाहिरबाट हेर्दा उहाँ एकदमै स्ट्रिक्ट, कम बोल्ने, कडा हुनुहुन्छ जस्तो लाग्थ्यो’, निर्देशक राउतबारे उनी भन्छिन्, ‘मलाई त सुरुमा कतै उहाँले कराउनुहुन्छ कि भन्ने डर थियो ।’ तर फिल्मको सेटमा पुगेपछि उनको बुझाइ परिवर्तन भयो ।

रियालिटीमा त उहाँ एकदमै हँसाउने, रमाइलो माहोल बनाउने मान्छे हुनुहुँदो रहेछ’, उनी सुनाउँछिन्, ‘उहाँको मार्गदर्शनले गर्दा मलाई काम गर्न निकै सजिलो भयो ।’

पहिलो परिचय टिकटकर

आकृतिको कलाकारिताको जग न लामो छ, न उनी अध्यायन सहित यो क्षेत्रमा भित्रिएकी हुन् । कोभिड लकडाउनको समय घरमा बस्दा दिक्क लागेर उनले टिकटक भिडियो बनाउन थालेकी थिइन् । त्यही भिडियोका कारण सामाजिक सञ्जालमा उनी चिनिन पुगिन् । उनको पहिलो परिचय टिकटकर हो ।

‘लकडाउनमा फुर्सद थियो, रमाइलोका लागि टिकटक बनाउन थालें’, उनी पुराना दिन सम्झिन्छिन्, ‘त्यो रमाइलो बिस्तारै प्यासनमा बदलियो । भिडियो बनाउँदै जाँदा लाइक र कमेन्ट समेत धेरै आउन थाल्यो ।’ सानैदेखि नक्कल पार्ने, एक्टिङ गर्नुपर्ने खालको आफ्नो स्वभाव र मेकअप, फेसन र डान्सिङको रुचिले पनि टिकटकमा चर्चाका लागि मद्दत गरेको उनी बताउँछिन् ।

टिकटक भिडियोका कारण उनले पहिलो म्युजिक भिडियो पाएकी थिइन् । सुरूकै भिडियो उनले सुशान्त केसीको ‘बार्दली’ पाइन् ।Aakriti Rajbhandari (2)

‘बार्दली म्युजिक भिडियो नै त्यो मोड थियो, जसले मलाई फिल्म मेकरहरूको आँखामा पार्‍यो’, उनी भन्छिन्, ‘त्यो भिडियोले क्लोजअप, ट्युवर्क जस्ता राम्रा ब्रान्डिङ भिडियोहरू समेत हात पर्‍यो ।’ म्युजिक भिडियो र विज्ञापनमा छाएपछि फिल्म निर्देशकलाई विश्वास गर्न सजिलो भएको उनी सुनाउँछिन् ।

‘कुमारी’ रिलिज नहुँदै उनले धेरै चर्चा पाइसकेकी छन् । तर पनि उनी सन्तुष्ट छैनन् । चर्चा भन्दा ठुलो अभिनयमा सफलला हो भन्ने उनले बुझेकी छिन् । ‘अबका दिन फिल्म हात पर्छ, पर्दैन । कस्तो फिल्म पर्छ’, उनी भन्छिन्, ‘जे भएपछि राम्रो स्क्रिप्ट र टिम मिल्यो अभिनय गरिरहन्छु ।’


प्रकाशित मिति : २०८२ माघ २२, बुधबार गते

धेरै पढिएको

ताजा समाचार