शुक्रबारदेखि दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजको अवसर पारेर ‘आबाट आमा’ र ‘द ब्लु लाइट’ देशभरका हलमा रिलिज भएका हुन्।
यी अलग–अलग जनराका फिल्म हुन्। चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ भावनात्मक पारिवारिक कथामा आधारित फिल्म हो। यसले आमाछोराबीचको गहिरो सम्बन्ध र त्यसमा जोडिने पीडा, माया र त्यागको कथा भन्छ।
परिवार, आमाछोराको सम्बन्ध, भावना र सामाजिक यथार्थलाई केन्द्रमा राखिएको ‘आबाट आमा’ सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त फिल्म हो। यसमा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ।
फिल्मको रनटाइम २ घण्टा ४० मिनेट छ।
त्यस्तै, ‘द ब्लु लाइट’ मनोवैज्ञानिक थ्रिलर फिल्म हो। यसको कथा एक्लोपन, परित्यागको पीडा लत र आफ्नी आमाको रहस्यमयी मृत्युको त्राससँग संघर्ष गरिरहेकी माया पात्रको वरिपरि घुम्छ। मानसिक स्वास्थ्य, एक्लोपन र मनोवैज्ञानिक द्वन्द्वलाई यसको कथाको केन्द्रमा राखिएको बताइएको छ।
बलिराम चौहान निर्देशित फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, आयुष्मान जोशी, सुरक्षा इटानीलगायत कलाकारहरूको अभिनय छ। पीजी सर्टिफिकेट प्राप्त फिल्मको रनटाइम १ घण्टा ४१ मिनेट छ।
यसअघि रिलिज नेपालीसहित विदेशी फिल्महरू पनि हलमा प्रदर्शनरत छन्।

