बैतडीमा खैरो हेरोइन कारोबारमा पाँच जना पक्राउ परेका छन् । लुकीछिपी लागुऔषधको कारोबार भइरहेको घटना प्रहरीले सार्वजनिक गरेको हो ।
पाटन नगरपालिका–६ बजार क्षेत्रमा रहेको एक निर्माण सेवाको कोठाबाट खैरो हेरोइनसहित पाँच जना युवा पक्राउ परेका छन् । प्रहरीले सूचनाका आधारमा गरेको खानतलासीका क्रममा कोठाभित्र टेबुलमुनि लुकाइ राखिएको २ सय ५० मिलिग्राम खैरो हेरोइन फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो।
पक्राउ परेका सबैजना स्थानीय युवाहरू रहेको उहाँले जानकारी दिनुभयो । घटनापछि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पछिल्लो समय युवामाझ लागु औषधको पहुँच बढ्दै गएको भन्दै प्रहरीले नियन्त्रण अभियानलाई अझ कडा बनाइने जनाएको छ ।

