काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई श्रृंखलामा नेपालले लगातार चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले प्रस्तुत गरेको २७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
यो पराजयसँगै यूएई भ्रमणमा लगातार तीन खेल हारेको नेपालको शीर्ष ४ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने र ओडीआई मान्यता जोगाउने लक्ष्यमा थप चुनौती देखिएको छ ।
नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाका साइतेजा मल्लाले ७५ र मिलिन्द कुमारले ७० रनको विजयी इनिङ खेले । नेपालले सोमपाल कामीलाई बेन्चमा राखेर बलिङमा फेरबदल गरे पनि विपक्षीको बलियो साझेदारी तोड्न सकेन ।
नेपालको हारका मुख्य ५ कारणहरू यहाँ प्रस्तुत गरिएका छन्:
१. पाएको राम्रो सुरुवातलाई ठूलो इनिङमा बदल्न नसक्नु
कुशल भुर्तेल (४७) र भीम सार्की (४३) ले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै नेपाललाई ८८-१ को बलियो अवस्थामा पुर्याएका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरी (७५) र रोहित पौडेल (३६) ले पाँचौँ विकेटका लागि ८९ रनको साझेदारी गरे । तर, यी कुनै पनि ब्याटरले आफ्नो व्यक्तिगत इनिङलाई विशाल शतकमा परिणत गर्न सकेनन् । ठूला साझेदारी बने पनि त्यसलाई ३०० माथिको स्कोरमा पुर्याउने जिम्मा कसैले पनि नलिँदा नेपाल २७१ रनमा अलआउट भयो ।
२. पावर प्लेमा विकेटविहीन बन्नु
२७२ रनको लक्ष्य बचाउनका लागि नेपाललाई सुरुवाती १० ओभर (पावर प्ले) मा विकेटको सख्त आवश्यकता थियो । तर, अमेरिकी ओपनरहरूले कुनै पनि विकेट नगुमाई ५३ रन जोडे । यसले गर्दा मध्यम क्रमका ब्याटरलाई दबाब बिना खेल्न सहज भयो र खेलको गति अमेरिकातिर ढल्कियो ।
३. साइतेजा र मिलिन्दको निर्णायक साझेदारी तोड्न नसक्नु
नेपालले ९५-३ को अवस्थामा पुर्याएपछि साइतेजा र मिलिन्द कुमारले चौथो विकेटका लागि १२३ रनको विशाल साझेदारी गरे । अमेरिकालाई जिततर्फ लैजान यो साझेदारी नै निर्णायक बन्यो । यी दुईमध्ये एकलाई समयमै आउट गर्न सकेको भए नेपाल खेलमा फर्किन सक्थ्यो, तर विकेट लिन नसक्दा अमेरिकाको जित सुनिश्चित भयो ।
४. कमजोर फिल्डिङले आत्मसमर्पण
महत्वपूर्ण समयमा फिल्डरहरूबाट साथ नपाउनु पनि हारको ठूलो कारण बन्यो । स्पिनर सन्दीप लामिछानेको बलमा साइतेजा मल्लाको क्याच कुशल भुर्तेलले व्यक्तिगत २१ रनमा छाडे, जसले उनलाई ७५ रनको ठूलो इनिङ खेल्न मद्दत गर्यो । यसबाहेक, साइतेजालाई ५७ रनमा गुलशन झाले पनि जीवनदान दिएका थिए । दीपेन्द्रसिंह ऐरी र भीम सार्की जस्ता प्रमुख फिल्डरको प्रदर्शन पनि अपेक्षाभन्दा कमजोर रह्यो ।
५. प्रमुख बलरले सही समयमा विकेटलिन संघर्ष गर्नु
सोमपाल कामीको अनुपस्थितिमा करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशीमाथि दबाब बढेको थियो । तर, कुनै पनि प्रमुख बलरले नेपाललाई आवश्यक परेको समयमा विकेट निकाल्न सकेनन् । करणले आफ्नो एक मात्र विकेट ४६ औं ओभरमा लिए, जब अमेरिकालाई जितका लागि ३८ रन मात्र आवश्यक थियो । सन्दीपले ३ विकेट लिए पनि उनको २ विकेट अन्तिममा मिलिन्द र शुभमको थियो । प्रमुख बलरहरूले सुरुवाती र मध्यक्रममा विकेट लिन संघर्ष गर्दा अलराउन्डर दीपेन्द्रलाई ढिलो गरी बलिङ दिनुपर्यो, जसले गर्दा बलिङको रणनीति सफल हुन सकेन ।

