फिल साल्ट र ह्यारी ब्रुकको उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्डलाई दोस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई ६५ रनले हराएको छ। पाहुनाले सिरिजमा १–० को अग्रता लिएको छ।
साल्ट र ब्रुकले ६९ बलमा १ सय २९ रनको साझेदारी गरेपछि इंग्ल्याण्डले ४ विकेटको क्षतिमा २ सय ३६ रनको ठूलो योगफल तयार पार्यो ।
क्राइस्टचर्चको हेग्ली ओभलमा टि ट्वान्टी आईमा बनेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । त्यस्तै यो इंग्ल्यान्डको टि ट्वान्टी इतिहासमा पाँचौं उच्च स्कोर हो। ओपनर साल्टले उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै ५६ बलमा ८५ रन बनाए । कप्तान ब्रुक अझ विस्फोटक देखिए जसले ३५ बलमा ७८ रन बनाउँदा ५ छक्का प्रहार गरे।
न्युजिल्यान्डले आफ्नो टि ट्वान्टी इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको थियो । ९ ओभरमा २ विकेट गुमाएर ८७ रन जोडेर सुरुवात राम्रो गर्यो । तर त्यो लयलाई कायम राख्न सकेन ।
घरेलु टोली १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७१ रनमा समेटियो। इंग्ल्याण्डका आदिल रशीदले ४ विकेट लिए । तेस्रो टि ट्वान्टी बिहीवार हुनेछ।

