मोड्रिचले रियल म्याड्रिड छाड्ने


रियल म्याड्रिडका कप्तान लुका मोड्रिचले सिजनको अन्त्यसँग क्लब छाड्ने निश्चित गरेका‌ छन् ।
फिफा क्लब विश्वकपपछि स्पेनिस जायन्ट क्लबबाट उनले बिदा लिनेछन्।

सन् २०१८ का बालेन डि’ ओर विजेता ३९ वर्षीय क्रोएसियन मिडफिल्डरले रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा शनिवार रियल सोसिडाडविरुद्धको सिजनको अन्तिम ला लिगा खेल खेल्दै क्लबबाट अन्तिमपटक मैदानमा उत्रनेछन्।

‘त्यो क्षण आइपुगेको छ । जुन म कहिल्यै आओस भन्ने चाहँदिनथे। तर फुटबल यही हो । जीवनमा पनि सबै कुरा सुरु हुन्छ अनि अन्त्य पनि हुन्छ,’ मोड्रिचले इन्स्टाग्राममा लेखेका छन्।

२०१२ मा टोटनहमबाट रियलमा आबद्ध भएदेखि उनले हालसम्म ६ वटा च्याम्पियन्स लिग र ४ घरेलु लिग उपाधिसहित २८ ट्रफी जितिसकेका छन्।

‘२०१२ मा म संसारकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र ठूला उपलब्धिहरु हासिल गर्ने महत्त्वाकांक्षासहित यहाँ आएको थिएँ। तर त्यसपछि जे भयो, त्यो मैले कल्पना पनि गरेको थिइनँ,’ उनले भनेका छन् ।

उनले अगाडि भनेका छन् ‘रियलका लागि खेल्नुले मेरो खेल जीवन र व्यक्तिगत जीवन नै परिवर्तन गरिदियो। इतिहासकै सबैभन्दा सफल क्लबको एक स्वर्णिम युगको हिस्सा हुन पाउनु मेरो लागि गर्वको कुरा हो।’

रियलले क्लब विश्वकपको आफ्नो अभियान जुन १८ मा साउदी अरेबियाको अल-हिलालविरुद्ध सुरु गर्नेछ र समूह चरणमा उनीहरूले मेक्सिकोको पाचुका र अस्ट्रियाको आरबी साल्जबर्गसँग खेल्नेछ ।

यो सिजन स्पेनिस ला लिगामा मोड्रिचले ३४ खेलमा २ गोल र ६ असिस्ट गरेका छन्। बार्सिलोनाले उपाधि जित्दा रियल म्याड्रिड दोस्रो स्थानमा सीमित रह्यो।

मोड्रिच च्याम्पियन्स लिगको सबै खेल खेलेका थिए। जहाँ कार्लो एन्सेलोटीको टोली क्वाटरफाइनलमा आर्सनलसँग समग्रमा ५-१ ले पराजित भएको थियो।

मोड्रिचले गत वर्ष एक वर्षको नयाँ सम्झौता गरेका थिए। जुन यो सिजनको अन्त्यसँगै सकिनेछ। शनिवरको खेल प्रशिक्षक कार्लो एन्सेलोटीको लागि पनि रियल म्याड्रिडको अन्तिम खेल हुनेछ।

रिपोर्ट अनुसार बायर लेभरकुसेनका प्रशिक्षक साबी आलोन्सो उनलाई प्रतिस्थापन गर्ने सम्भावना छ।


प्रकाशित मिति : २०८२ जेष्ठ १०, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार