एभरेष्ट भलिबल क्लबको पोखरामा आज सुरु भएको नवौं पिएम कप भलिबल लिगमा विजयी सुरुवात


एभरेष्ट भलिबल क्लबले पोखरामा आज सुरु भएको नवौं पिएम कप भलिबल लिगमा विजयी सुरुवात गरेको छ।

पहिलो दिनको दोस्रो खेलमा एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको छ ।

पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२-२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५-१९, २५-१७,२५-१३ ले सेट आफ्नो पक्षमा पारेको हो। राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको टोलीमा ३ थाइल्याण्डका खेलाडी छन् ।

त्यसअघि नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ। दिनको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो।

एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो। महिलामा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबको आज खेल छैन । प्रतियोगितामा सहभागी बाँकी सबै टोलीले आफ्नो पहिलो खेल आज खेल्नेछन् ।

आज  पुरुषतर्फ ४ खेल हुनेछन् । जसमा क्रमैसँग एपिएफ र सुदूरपश्चिम प्रदेश, टिप टप हेल्प नेपाल र आर्मी, गण्डकी प्रदेश र कोशी प्रदेश तथा दिनको अन्तिम खेल नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले‌ सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगका  विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानबाट भइरहेको छ।


प्रकाशित मिति : २०८२ जेष्ठ ९, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार