म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षक रुबेन आमोरिमको कार्यकालमा झन् संघर्ष गर्नुपरेको छ, शनिबार प्रिमियर लिगमा ओल्ड ट्राफोर्डमा नोटिङ्घम फरेस्टसँग ३-२ को पराजय ब्यहोरेको छ। सेट पिसबाट कमजोर प्रदर्शनले युनाइटेडलाई पुनः निराश तुल्याएको छ।
गत साता आर्सेनलसँग २-० ले पराजित हुँदा दुई कर्नर गोल खाएको युनाइटेडले यसपटक खेलको दोस्रो मिनेटमै अर्को कर्नरबाट गोल खायो। फरेस्टका डिफेन्डर निकोला मिलेनकोभिकले हेडरमार्फत गोल गरेका थिए। यद्यपि, डेनिस स्ट्राइकर रस्मस होइलुन्डले १८औं मिनेटमा खेल बराबरी गरे।

दोस्रो हाफमा युनाइटेडको सुरुवात झन् खराब रह्यो। गोलकिपर आन्द्रे ओनानाले मोर्गन गिब्स-ह्वाइटको प्रहार रोक्न नसक्दा दुई मिनेटमै गोल खायो। त्यसपछि ५२औं मिनेटमा गिब्स-ह्वाइटकै क्रसलाई क्रिस वुडले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गरे।
ब्रुनो फर्नान्डेसले ६१औं मिनेटमा बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै युनाइटेडका लागि गोल फर्काए पनि समताका लागि प्रयास असफल रह्यो।
यस हारसँगै युनाइटेड तालिकाको १३औं स्थानमा १९ अंकमा सीमित छ भने नोटिङ्घम फरेस्टले ३० वर्षपछि ओल्ड ट्राफोर्डमा जित दर्ता गर्दै २५ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।


