लिग-२ मा नेपालको झन्डै २५० दिन पछि जित


आशिष लामिछाने (खेलकुद प्रतिनिधि)। नेपालले आईसीसी विश्वकप लिग -२ मा २४०+ दिन पछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्ये एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टियु क्रिकेट मैदानमा थियो । १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको अविजित इनिङ खेले ।

May be an image of 4 people and text

गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । छैटौं विकेटलाई यी दुई ब्याटरले ५१ बलमा ५७ रनको साझेदारी गरेका थिए ।

ओपनर अनिल साह १३, आसिफ शेख २१, कुशल मल्ल ७, कुशल भुर्तेल २५ र रोहित कुमार पौडेल १ रनमा आउट भए ।

नेपाललाई ओपनर अनिल र आसिफले ६.१ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । अनिल ब्रेन्डन म्याकमुलेनको बलमा एलबिडब्लू आउट भए ।

ललित राजवंशीको स्थानमा खेल्ने मौका पाएका कुशल मल्ललाई ब्राण्ड कुरीले एलबीडब्लू आउट गरे । आसिफ शेख मार्क वाटको बलमा बोल्ड आउट भए । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले २, ब्राण्ड कुरी, मार्क वाट र ज्याक जार्विसले १-१ विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४१.४ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाएका थिए ।

May be an image of 2 people and text

तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर चार्ली टिअरलाई स्कटल्यान्डले खाता नखोल्दै बोल्ड आउट गरेका थिए । सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा ओपनर एन्ड्रयू उमिदलाई १४ रनमा बोल्ड आउट गरे ।

ब्रेन्डन म्याकमुलेन १२ औं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेको बलमा १६ रनमा एलबिडब्लू आउट भए । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन र माइकल जोन्स समान १९ रनमा आउट भए ।

माइकल लिस्क १४, म्याथ्यु क्रस १५ र ज्याक जार्विस शून्यमा आउट भए । नेपालका सन्दीपले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिए । आरिफको नाममा १ विकेट रह्यो ।

May be an image of 1 person and text

नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले अब शनिवार अमेरिका र सोमवार स्कटल्यान्डसँग खेल्नेछ ।

स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

May be an image of 4 people and text that says '01 CAN Second NEPAL 10'


प्रकाशित मिति : २०८१ कार्तिक १४, बुधबार गते

धेरै पढिएको

ताजा समाचार