भारतलाई हराउँदै बंगलादेश समूह विजेता


साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल रह्यो । यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि बन्यो । भारत २ खेलमा ३ अंकका साथ उपविजेता बन्दा २ खेलमा १ अंक जोडेको पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ ।

खेलको सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । साविक विजेताको जितमा तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले गोल गरे । पहिलो हाफको अन्त्यतिर बाला देवीले भारतका लागि गोल फर्काइन् ।

May be an image of 2 people, people playing soccer, people playing football and text

पहिलो हाफको सुरुवातमा भारतले खेलमा अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बंगलादेशले फाइदा उठायो । बंगलादेशले त्यसपछि दुवै गोल भारतीय गोलरक्षकको कमजोरीमा गर्यो । तोहुराले पहिलो हाफको अन्त्यतिर सुन्दर गोल गर्दै खेलमा ३-० ले अग्रता दिलाएपनि त्यसै गोलमा चलेको किकअफबाट भारतले गोल फर्कायो ।

बङ्गलादेशले १८औं मिनेटमा अग्रता बनायो । कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षक पान्थोइ चानुको फितलो पन्च अफिदा खान्दाकर नजिकै ड्रप भयो । सो बललाई अफिदाले सुन्दर ढङ्गले गोलकिपरको माथिबाट गोल पोष्टको दिशा दिइन् ।

२७ औं मिनेटमा ऋतु पूर्णा चक्माले पेनाल्टी क्षेत्रको बायाँ तर्फबाट गरेको क्रस पोस्टमा लागेर फर्कंदा बंगलादेश अग्रता दोब्बर पार्नबाट चुक्यो ।

May be an image of 2 people, people playing soccer, people playing football and text

२९ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । बायाँ विंगबाट ऋतुको क्रसमा गोलरक्षक पान्थोइ चानुले बल रोक्न नसक्दा तोहुराले गोल गरिन् । फार पोस्टमा रन्जना चानुले मार्क गरेको भएपनि तोहुराले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिएकी थिइन् ।

३५ औं मिनेटमा भारतले खेलमा फर्कन सुवर्ण अवसर खेर फाल्यो । बायाँ विंगबाट रन्जना चानुले दिएको लो क्रस पेनाल्टी क्षेत्रभित्र बाला देवीले पाएकी थिइन् । कुनै डिफेन्डर वरपर नरहेको अवस्थामा ६ यार्ड बक्स नजिकबाट उनले गरेको प्रहार गोलरक्षक रुपना चक्माले विफल पारिन् ।

३८ औं मिनेटमा भारतको पुनरागमनमा पोस्ट बाधक बन्यो । मनिषाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको फ्रिकिकमा गोलरक्षक बिट भएपनि पोस्टमा लागेर फर्कियो । ४३ औं मिनेटमा बंगलादेशले तोहुराको उत्कृष्ट गोलमा ३-० को अग्रता लियो । साम्सुनाहरले पेनाल्टी क्षेत्र नजिकबाट दिएको पासलाई तोहुराले हाफ भलीमा सट लिँदै सुन्दर गोल गरिन् ।

May be an image of 8 people, people playing football, people playing soccer and text

त्यसको एक मिनेट नबित्दै भारतले गोल फर्कायो । डालीमा छिब्बरले दायाँ विंगबाट दिएको क्रस रुपना चक्माको हातबाट फुस्किएपछि बाला देवीले बललाई भुइंमा खस्न नदिई पोस्टतर्फ पठाइन् ।

५६ औं मिनेटमा रिम्पा हाल्दरले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले आफ्नो बायाँतर्फ डाइभ दिँदै विफल पारिन् । ६३ औं मिनेटमा रुपनाले पुन: एकपटक भारतको उत्कृष्ट आक्रमणलाई विफल परिन् । रिम्पाको पासमा ज्योति चौहानको वन भर्सेस वनको स्थितिमा गरेको प्रहार उनले बचाइन् ।

May be an image of 3 people, people playing soccer, people playing football and text

७७ औं मिनेटमा रिम्पाकै क्रसमा ज्योतिले पेनाल्टी क्षेत्र भित्र पाएको अवसरलाई पोस्टको दिशा दिन सकिनन् । ८० औं मिनेटमा बंगलादेशकी सपना रानीले भारतीय हाफको मध्यबाट लिएको प्रहार गोलरक्षक चानुले मुस्किलले बाहिर पठाइन् । इन्ज्युरी समयको पहिलो मिनेटमा सौम्या गुगुलोथले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपनाले दोस्रो प्रयासमा बचाउँदै जित पनि पक्का गरिन् ।

May be an image of 1 person, playing football, playing soccer and text

प्रतियोगिता अन्तर्गत विहीबार समूह बी को अन्तिम खेल हुनेछन् । पहिलो खेल दिउँसो १:३० बजे भुटान र माल्दिभ्सबीच हुनेछ । दोस्रो खेलमा साँझ ५:३० बजे नेपाल र श्रीलंका भिड्नेछन् ।

नेपाल र भुटानको २-२ खेलमा समान ४-४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । श्रीलंकाको २ खेलमा ३ अंक तथा माल्दिभ्स अंकविहिन छ । यस समूहको विजेताले सेमिफाइनलमा भारतको सामना गर्नेछ । दोस्रो हुने टोलीले बंगलादेशसँग खेल्नेछ ।


प्रकाशित मिति : २०८१ कार्तिक ८, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार