बिबिसीका ग्लोबल रिपोर्टर नवीनसिंह खड्कासँग मैले जे सिकेँ


मैले कतै पढेको हुँ वा कसैले मलाई भनेको हो — मान्छेले आफ्नो काममा सधैं ‘अपडेटेड’ रहनुपर्छ; जो अपडेटेड रहँदैन, ऊ ‘आउटडेटेड’ हुन्छ।

मलाई ‘आउटडेटेड’ हुनु छैन।

एक पत्रकारका रूपमा हाम्रो सिकाइको मुख्य स्रोत बढीभन्दा बढी पढ्ने, बढीभन्दा बढी सुन्ने र बढीभन्दा बढी लेख्ने नै हो।

सिकाइका यी संघर्ष जारी छन्।

व्यक्तिगत रूपमा म अग्रज पत्रकारहरूदेखि सहकर्मी तथा समकालीन साथीहरू र नयाँ पुस्ताका पत्रकारले लेखेका स्टोरीलाई नै सिकाइको मूल मान्छु। किताब पढूँ या नपढूँ; हरेक दिन अनलाइन वा अखबारमा छापिएका स्टोरी पढेकै हुन्छु — सूचनाको निम्ति मात्र होइन, रचनाको निम्ति पनि।

कसले कुन स्टोरी कसरी लेखे, कुन विषय कसरी उठाए, स्थलगत रिपोर्टिङ कसरी गरे, कुन मुद्दामा कस्तो न्यारेटिभ बनाए — यस्ता विषय जान्न र सिक्न म हरेकदिन पाएसम्मका स्टोरी मोटामोटी पढ्छु। मिहिनेत गरेर लेखिएको लामो फिचर त कसैगरी छुटाउँदिनँ।

मेरो पठनको सिलसिला अमेरिकी अखबारहरू ‘न्यूयोर्क टाइम्स’ देखि ‘न्यूयोर्कर’ र भारतीय अनलाइनहरू ‘स्क्रोल’ देखि ‘द वायर’ सम्म तन्किएको छ। बेलायतको ‘द गार्डियन’ होस् या सिंगापुरको ‘स्ट्रेट्स टाइम्स’, मलेसियाको ‘मलेसियाकिनी’ या हङकङको ‘साउथ चाइना मर्निङ पोस्ट’; म सबै रूचिपूर्वक पढ्छु। यसको कारण त्यहाँका खबरमा अचाक्ली चाख भएर पक्कै होइन; मुख्य कारण उनीहरूको पत्रकारिता कस्तो छ, लेखाइ कस्तो छ, लेखनमा कस्तो–कस्तो शैली विकास भइरहेको छ भनेर जान्न र सिक्न हो।

पछिल्लो समय मलाई एउटा प्रश्नले घच्घच्याइरहेको छ — अन्तर्राष्ट्रिय मिडियाले कसरी काम गर्छ? त्यहाँका पत्रकार कसरी रिपोर्टिङ गर्छन्? कसरी लेख्छन्? विषयवस्तु कसरी उठाउँछन्? सूचनामा रचना कसरी भर्छन्?

यो कौतूहल यस कारण पनि जाग्यो, किनभने मलाई नेपालका न्यूजरूम कसरी चल्छन्, हामी नेपाली पत्रकारहरू कसरी काम गर्छौं, कसको लेखन कस्तो छ भन्ने मोटामोटी थाहा छँदैछ। तर यो थाहा छैन — बिबिसी वा सिएनएनले कसरी काम गर्छन्? न्यूयोर्क टाइम्स वा न्यूयोर्करले जसरी लेख्छन्, त्यस्तो कसरी लेख्छन्?

मलाई यो पनि थाहा छैन — त्यहाँका पत्रकार कसरी सूचना संकलन गर्छन्? र, सूचनामा रचना कसरी भर्छन्?

मेरो यही सिकाइ संघर्ष र काममा ‘अपडेटेड’ रहने क्रमकै निरन्तरता हो, यो शृंखला।

यसमा म अन्तर्राष्ट्रिय मिडियामा काम गरिरहेका नेपाली वा विदेशी पत्रकारसँग अनलाइन (मौका मिले प्रत्यक्ष भेटेर पनि) वार्ता गर्नेछु र उनीहरूको अनुभवबाट नयाँ कुरा सिक्ने प्रयत्न गर्नेछु। समाचार लेखनको नयाँ ट्रेन्ड के हो? फिचर लेख्ने नयाँ तरिका के–के हुन सक्छन्? सूचना पस्कन के–कस्ता नयाँ शैली अपनाउन थालिएको छ? पत्रकारिता र लेखनसँग जोडिएका यस्ता विभिन्न विषयमा म अन्तर्राष्ट्रिय पत्रकारहरूसँग कुरा गर्नेछु।

अरूको पत्रकारिता र लेखनबाट नै हाम्रो पत्रकारिता र लेखन सिसाकलमझैं तिखारिन्छ भन्ने मेरो बुझाइ छ। त्यसैले यो शृंखलालाई मैले आफ्नो पत्रकारिता सिकाइको नयाँ कक्षाका रूपमा लिएको छु।

म सिक्छु; अनि जे सिक्छु, त्यो लेख्छु।


प्रकाशित मिति : २०८१ आश्विन २१, सोमबार गते

धेरै पढिएको

ताजा समाचार