आशिष लामिछाने , रौतहट, अशोज १३: टाईटानको सुदृढ बजार, घडी समय देखाउने समान्य यन्त्र मात्र नभएर आज यो एउटा फेसन स्टेटमेन्ट बनेको छ । स्मार्ट जेनेरेसन स्मार्टफोन र स्मार्टवाच तर्फ आकर्षित भएसँगै झण्डै झण्डै आम मानिसको हातबाट हराउन थालेको घडी पुनः निक्कै सबल र मर्यादाको पहिचान बन्दै पुनरागमन गरेको छ भन्दा अतियुक्ती नहोला । आधुनिक जमानाका ग्याजेट र वेरेबल डिभाईसले घडीलाई प्रतिस्थपन गर्ने भनेर गरिएका अड्कल र भविष्यबाणी गलत सावित मात्र भएनन् बरु अहिले आएर घडी आधुनिक जमानाको महत्वपूर्ण ज्वेलरीको रुपमा फेसन क्याटेगोरीमा सबलताका साथ उभिन सफल भयो । करिव पाँच बर्ष अगाडिसम्म घट्दो क्रममा रहेको घडीको माग र विक्री पछिल्ला बर्षहरुमा क्रमिक सुधार हुँदै गएको छ ।
घडी अलिक लक्जरी सेग्मेन्टमा पर्ने भएकाले पनि उत्साहजनक आर्थिक बृद्धि नभएकाले पनि अपेक्षाकृत बृद्धि हुन नसकेको हो । चीनबाट ज्यादै सस्तो मूल्यमा आउने गुणस्तरहिन र नक्कली घडीका कारण ब्राण्डेड घडीको बिक्रीमा नकारात्मक असर परेको हो । भारतीय सिमावर्ती बजारबाट लुकाई छिपाई भन्सार छलेर ल्याईने घडीले पनि यसमा प्रभाव पारेको छ भने केही समय अगाडिस्मार्ट वाचले गर्दा धेरैको आकर्षण चोरेको थियो ।

२०६० सालमा टाइटान सँगको नेपाल ट्रेड नेटवर्कको सहयात्रा शुरु भएको थियो । विश्वकै पाँचौं ठूलो वाच मेकरको रुपमा रहेको टाटा कम्पनी लिमिटेडका उत्पादनहरुलाई २०६० सालमा नेपाल टे«ड नेटवर्कले पहिलो पटक आधिकारीक रुपमा भित्र्याएको थियो । आज टाईटानका तिन वटा आफ्ना रिटेल आउटलेट छन् भने एनटिएनले नेपालभर डिष्ट्रिब्युसन नेटवर्क मार्फत घडीको विक्री वितरण गर्दै आएको छ । सानो स्केलमा शुरु गरेको ब्यापारले आज देशमा पहिचान पाउन सफल भएको छ भने यससँगै अन्य खुद्रा विक्रेता तथा आफ्ना कर्मचारीहरुलाई अर्थोपार्जनको अवसर श्रृजना गरेकोमा एनटिएन गौरवान्वित छ ।
लक्षित ग्राहक
टाईटानमा नौ सय रुपैंया देखी पाँच लाख रुपैंया सम्मका घडीहरु उपलब्ध छन् । टाईटानले विभिन्न सेग्मेन्ट र वर्ग लक्षित आठवटा घडीका ब्राण्डहरु उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । यसले यो मास मार्केट टार्गेटेड प्रोडक्ट हो भन्ने कुरामा कुनै दुविधा रहँदैन ।
अहिले नेपालको घडी मार्केट गिफ्टिङ्मा निर्भर हुँदै गएको छ । अर्थात विहे, बर्तमन, बर्थडे, एनिभर्सरी, भ्यालेन्टाईन डे आदिमा एक आपसलाई दिईने उपहारमा घडी हावि हुँदै गएको छ र टाईटान त्यसको पहिलो रोजाईमा परेको देखिन्छ । विश्वासिलो ब्राण्ड हुनु र एफोर्डेबल प्राईस हुनुले गिफ्टिङ्का लागि टाईटान वाच नेपाली बजारमा लोकप्रिय बन्न सफल भएको हो ।
स्मार्टवाचले घडी बजारमा कस्तो पारेको प्रभाव
नेपाली बजारमा सस्ता चीनबाट आउने गुणस्तर नै नभएका स्मार्टवाचहरु प्रसस्तै भेटिन्छन् । महङ्गा ब्राण्डेड स्मार्टवाचको हुबहु डिजाईन नक्कल गरेर बनाईने त्यस्ता स्मार्टवाचहरु लगाउने बर्ग यहाँ सानो छैन जसले प्रष्टसँग ब्राण्डेड वाच होस् या स्मार्टवाच होस् दुवैको ब्यापारमा नकारात्मक असर पारेको छ । त्यस्ता स्मार्टवाचको प्रभाव प्रष्टै देखिन्छ तर, तिनिहरुको लाईफ साईकल ज्यादै छोटो हुन्छ, वारेन्टी ग्यारेन्टी र सर्भिस नहुने त्यस्ता स्मार्टवाच एकबर्ष पनि टिक्दैनन् र ग्राहकको पैसा खेर जान्छ र पुन ग्राहक ब्राण्डेडमा फर्किन्छन् । यसले देश र ग्राहक दुवैको आर्थिक नोक्सानी भने भईरहेको छ । त्यसैले आयातमा निर्भर हुने हाम्रो जस्तो मुलुकले देशको पैसा बाहिर पठाउने सन्दर्भमा न्युनतम गुणस्तर मापदण्ड निर्धारण नगरि नहुने देखिन्छ । नेपाली बजारमा पनि टाईटानका स्र्माटवाचको आयात तथा विक्री वितरण शुरु भईसकेको छ । तर, अफलाईन च्यानलका लागि एनटिएनको वितरण प्रणाली स्मार्टवाचको भन्दा भिन्न भएकोले यसले अपेक्षाकृत सफलता हाँसिल गर्न सकिरहेको देखिंदैन । मोबाईल मार्केटबाट स्मार्टवाच विक्री हुने भएकाले निकट भविष्यमा त्यसतर्फको वितरण सुदृढ गर्न एनटिएन अग्रसर भईसकेको बताउँछ ।

नेपालमै घडी उत्पादनको संभावना
नेपाल बजारका हिसावले निक्कै सानो आकारको बजार हो । यहाँ घडीको पूर्ण उत्पादन संभव छैन । फेरी घडीको इकोनोमी अफ स्केलमा चीनले विश्वलाई निक्कै पछाडि छोडिसकेको छ । सानो स्केलमा आफैंले झोलामा स्पेयर्स पार्टस् ल्याएर एसेम्बल गर्नेहरु चाहिँ यहाँ छन्, तर त्यो स्केल ज्यादै सानो छ, परिणाम नगण्य छ । विभिन्न नेपाली ब्राण्डमा चीनका उद्योगमा घडी उत्पादन गर्न दिएर नेपाली ब्राण्ड भनेर आयात तथा विक्री वितरण भने हुन थालेको छ, यसमा ब्राण्ड बनाउन सकिएको खण्डमा ब्यावसायीलाई उपलब्धिमूलक हुनसक्छ ।
यसलाई सुदृढ बनाउन
खुल्ला सिमानाका कारण चोरी पैठारी हुने घडी नियन्त्रण गर्न घडीलाई बर्गिकरण गरेर राजश्व निर्धारण गरिनुपर्छ । अहिले कायम राजस्व अलिक बढी नै छ । चीनबाट आयात हुने नक्कली र न्यून गुणस्तरीय घडीलाई प्रतिबन्ध नै लगाईनुपर्छ । यसले उपभोक्ता ठगी मात्र होईन देशको मुद्रा पनि अनाहकमा न्यून गुणस्तरीय सामाग्रीका लागि विदेशिएको छ । उपभोक्ता पनि स्वयं चेतनशिल बन्न आवश्यक छ, आफूले खर्च गरेको पैसा कस्तो उत्पादनमा परेको छ, त्यसको लाईफसाईकल के छ र विक्री पश्चातको सेवा पाईन्छ पाईंदैन भन्नेमा मात्र ख्याल गरेपनि यस ब्यवासायमा ठूलो सुधार आउनेछ ।

