“राजश्व चुहावट नियन्त्रण अपरिहार्य छ” अमित सर्राफ-प्रबन्ध निर्देशक, नागमणी इन्टरनेशनल


आशिष लामिछाने , रौतहट, अशोज ११:  राजश्व चुहावट नियन्त्रण अपरिहार्य छ

अमित सर्राफ
प्रबन्ध निर्देशक, नागमणी इन्टरनेशनल

नेपाली बजारमा ब्राण्ड विल्डिङ् कति सहज छ ?
हिजोका दिनहरुको तुलनामा आज ब्राण्ड विल्डिङ् निक्कै सजिलो बनेको छ । पन्ध्र बर्ष अगाडिफर्केर हेर्दा विभिन्न आम संचारका माध्यमहरुमा निर्भर रहेको ब्राण्डिङ् अत्यन्तै खर्चिलो र ट्रिकी पनि थियो । भारतीय बजारमा ब्यापक ब्राण्डिङ् गर्ने कम्पनीहरुलाई अलिकता सजिलो थियो, स्पिल ओभर मार्केटिङ्को रुपमा निःशुल्क भारतीय च्यानलबाट नेपालमा बज्ने विज्ञापनले त्यस्ता ब्राण्डहरु नेपाली बजारमा स्थापित हुन सजिलो भएपनि अरुलाई भने ज्यादै गाह्रो थियो । म आँफै मोटरसाईकलमा बसेर पसल पसलमा गएर पोस्टर टाँसेको अनुभव छ, २५ हजारमा शुरु गरेको विज्ञापन पाँच बर्ष नवित्दै डेढ लाखमा पुगेको अवस्था याद आउँछ । तर, अहिलेको डिजिटल युगमा ब्राण्ड विल्डङ् निक्कै सहज, कम खर्चिलो र माध्यम पनि प्रभावकारी बन्दै गएको छ ।

नेपाली ल्यापटप बजारमा पछिल्लो परिवर्तन कस्तो छ ?
नेपालको कुल जनसंख्याको २० प्रतिशत जनसंख्या काठमाडौं उपत्यकामा बसोबास गरेर ७० प्रतिशत ल्यापटप काठमाडौं भित्रै विक्री हुन्थ्यो । ल्यापटप मात्र नभएर अन्य सामाग्रीको अवस्था पनि त्यही थियो । तर, अहिले यो रेसियोमा परिवर्तन आएको छ, काठमाडौं बाहिरको विक्री ७० प्रतिशत पुगेको छ । यो डाईनामिक्स अझै लामो समय रहन्छ, र आंकडा अझ बढेर जानेछ । किनकी, काठमाडौंको बजार स्याचुरेटेड भईसक्यो भने बाहिरको बजारमा अझै प्रसस्तै ठाउँ बाँकी छ ।

अहिलेको आधुनिक डिजिटल एरामा ल्यापटपका लागि फिजिकल स्टोरको आवश्यकता कस्तो देखिन्छ ?
हामीले जति डिजिटल एरा भनेपनि फिजिकल स्टोरको महत्व र आवश्यकता निक्कै उच्च छ र यो सँधै रहन्छ । विश्वका विकसित बजारहरुमा पनि एप्पल स्टोर, बेस्ट बाई र अन्य ठूला रिटेल चेनले यो प्रमाणीत गरेकै छन् भने नेपालमा पनि एक्सपिरियन्सका लागि यो अपरिहार्य रहेको छ । हामीले पनि विस्तारै फिजिकल स्टोर संचालनको आवश्यकता महशुष गरिरहेका छौं । डिस्ट्रिब्युसनका शुरुवाती दिनहरुमा हामीले रिटेल स्टोर खोलेर बन्द पनि गरेका हौं । त्यसमा हाम्रो आफ्नै कमजोरी र अनुभवमा रहेको कमीको कारण ति स्टोर बन्द हुन पुगेका हुन् । तर, अवका दिनमा हामी विगतका गल्तिबाट सिकेको पाठ र नयाँ अनुभवलाई समेटेर रिटेल स्टोरमा हामी अगाडि बढ्नेछौं ।

पहिला छोडेको लेनोभोको डिस्ट्रिब्युसन पुनः शुरु गर्नुलाई कसरी लिन सकिन्छ ?
यो समयको माग र आवश्यकता हो । एसुस कन्जुमर प्रोडक्टमा बलियो छ, लेनोभो कमर्सियल प्रोडक्टमा । दुवैको अलग अलग स्ट्रेन्थ छ । यो हामीले पहिला पनि बुझेका हौं । तर, हाम्रो फोकस बढी के मा हुनुपर्छ भन्ने आन्तरिक एनालाईसिसका आधारमा हामीले लेनोभो छोडेका थियौं । अहिले हामीले एसुसलाई नम्बर एक बनाईसकेका छौं, वितरण प्रणालीमा हामी निक्कै बलियो छौं, अब लेनोभोलाई हामी जस्टिफाई गर्न सक्छौं भनेरै पुनः नेपाली बजारमा उतारेका हौं ।

ल्यापटपमा थपेको अन्तशुल्कलाई कसरी लिनुहुन्छ ?
यो राज्यको गलत निर्णय हो । थपिएको पाँच प्रतिशत अन्तशुल्कका कारण न्यून विजीकरण र ग्रे मार्केट दुवैले प्रश्रय पाएका छन् । भ्याट र अन्तशुल्कले थपिएको झण्डै २० प्रतिशतको अतिरिक्त भारले ल्यापटपको मूल्य त बढाएको छ नै यसले ग्रे मार्केट मौलाएको छ, अनि राजश्व चुहावट ठूलो परिमाणमा हुन थालेको छ ।

यो अवस्था रोक्न राज्यले के गर्नुपर्छ ?
यसमा नीति निर्माताले ब्यावसायीको कुरा सुन्नुप¥यो । सकारात्मक कुरा लागु गर्नुप¥यो । मोबाईलमा टाईप एप्रुभल दिए झैं आयातको विन्दुमै आधिकारीक आयातकर्ताको पहिचान गर्ने र आधिकारीक रुपमा आयात गरिएका ल्यापटपको कम्पनीले उपलब्ध गराएका सिरियल नम्बरको आधारमा मात्र भन्सार गर्ने पद्धती कायम गर्नसके ग्रे मार्केट नियन्त्रणमा मद्धत पुग्नुका साथै भईरहेको राजश्व चुहावट समेत नियन्त्रण हुनेथियो ।


प्रकाशित मिति : २०८१ आश्विन ११, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार