आशिष लामिछाने , रौतहट, अशोज १० : एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो खेलमा काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्स खेल्ने भएका छन् ।
राष्ट्रिय महिला भलिबल टोलीकी उषा भण्डारी काठमाडौं र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडी हुन्।
आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने लिगको खेल तालिका बुधवार जारी गरेको हो ।
खेल तालिका अनुसार हरेक दिन ३ खेल हुनेछ । पहिलो खेल दिउँसो ३ः४५, दोस्रो खेल साँझ ५ः४५ बजे र तेस्रो खेल साँझ ७ः४५ बजे सुरु हुने तालिका रहेको छ । फाइनल खेल असोज १९ गते साँझ ५ः३० बजे सुरु हुनेछ ।
इडब्लुभिएल ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित टोलीको घोषणा गरिसकेको छ। लिगमा सहभागी रहने केही टोली बाहेकले विदेशी खेलाडीको नामसमेत सार्वजनिक गरिसकेका छन् ।
पहिलो पटक आयोजना हुन लागेको लिगमा ६ टोली सहभागी हुदैछन् । सहभागी सबै टोलीले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ र शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।