सर्लाहीमा भारतीय सिमानाको छेउमा रहेको मधुबनी गाउँको एउटा सुनसान घर बाहिरबाट हेर्दा सधैँको जस्तै शान्त थियो ।
प्रहरीको टोलीले त्यही घरभित्र लुकाएर राखिएको रहस्यमयी घटना सार्वजनिक गरेको छ ।
शनिबार राति, प्रहरीलाई एक गोप्य सूचना प्राप्त भयो— एउटा बोरिङ राख्न बनाइएको खाली घरमा केही अनौठो घटना भइरहेको छ ।
शंकास्पद गतिविधि भएको सुनेपछि, स्थानीय इलाका प्रहरी कार्यालय गहडीया र प्रहरी चौकी मधुबनी गाउँबाट पुलिस टोली, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ९बीओपी० मधुबनीसँग संयुक्त रुपमा तत्कालै त्यहाँ पुग्यो ।
त्यो घर भित्र पस्दा थाहा भयो, पैसा छाप्ने कारखाना नै रहेछ । घरभित्र नक्कली नोट बनाउने सारा तयारी पो भइरहेको रहेछ ।
भित्रको दृश्य त कुनै जासूसी फिल्मको सेटजस्तै थियो—कागजका थुप्रो, केमिकलका बोतलहरू र नोट बनाउने उपकरणहरू । यति मात्रै हो र रु त्यहाँ आठ जना पनि थिए, जो पैसा छाप्ने तयारी गर्दै थिए ।
काठमाडौँका सौगात थापा मगर र विजय लामा, ललितपुरका सन्जय राना मगर, भक्तपुरका अमिर खत्री, भारतका सुबोध कुमार र राजिव ठाकुर थिए ।
सर्लाही र रौतहटका जनार्धन सिंह र विशाल राई गरी आठजना पक्राउ परे । सबै मिलेर नक्कली नोट बनाउन जुरमुराएका रहेछन् ।
प्रहरीले त्यहाँबाट १४ थान एक हजारको नोट साइजमा काटिएको कागज बरामद गर्यो ।
विभिन्न रङ्गको आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपियाँ समेत भेटिएको छ ।
१० थान मोबाइल सेट, एउटा नेपाली स्कारपियो गाडी र दुईवटा भारतीय मोटरसाइकल पनि बरामद भएको छ ।
पक्राउ परेका ८ जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अहिले अनुसन्धान भइरहेको छ ।
एसपी रवीन्द्रबहादुर सिंहको भनाइ अनुसार, ‘उनीहरूले कसरी नक्कली नोट तयार गर्थे, हामी अनुसन्धान गर्दैछौँ ।’