काठमाडौंमा दक्षिण एसियाली महिला सम्मेलन सुरु


काठमाडौँ — ग्रामीण पर्यटन, कृषि, उद्यमसँग जोडिएका महिला उद्यमीलाई डिजिटलाइजेसनमार्फत सशक्तीकरण गर्ने उद्धेश्यले काठमाडौंमा दक्षिण एसियाली महिलाहरूको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

आइतबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेको सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, पाकिस्तान,माल्दिभ्स र अफगानिस्तानका लघु, साना र मध्यम स्तरका महिला उद्यमी व्यवसायीहरू, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा अनुसन्धानकर्ता, वित्तीय संस्था, प्रविधि प्रदायक संस्था, अन्तर्राष्ट्रिय संस्था, कर्पोरेट क्षेत्र, युवा तथा विद्यार्थी, विकास एजेन्सी सहभागी रहेको पूर्व पर्यटनराज्यमन्त्री याङकिला शेर्पाले बताइन् ।

‘दक्षिण एसियाली महिलाहरूको सम्मेलनमा ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाइएको छ,’ पर्यटन व्यवसायीसमेत रहेकी शेर्पाले भनिन्,‘ जसले दक्षिण एसियाली महिलाहरुलाई एउटै सञ्जालमा राखेर उनीहरूको अनुभव आदानप्रदान गरी ग्रामीण महिलाहरूलाई रोजगारीको अवसर सिर्जना गराउने एउटा पुलको भूमिका निर्वाह गर्नेछ ।’

सम्मेलन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले लैङ्गिक असमानता हटाउन, आर्थिक सशक्तीकरण गर्न महिला उद्यमीहरू डिजिटल रुपान्तरणमा अनिवार्य जोडिनुपर्ने बताए । ‘यस्तो सहभागिताले मात्रै हामी दिगो विकासको लक्ष्य हासिल गर्न सक्छौं,’ उनले भने ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालले अन्तर्राष्ट्रिय सन्धि-सम्झौताअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेटबाट महिलाहरूलाई प‌क्तिबद्ध गर्नुपर्ने बताइन् ।

सम्मेलनमा दक्षिण एसियाभरका महिलाहरूले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठ्यारा विषयवस्तुलाई लक्षित गरिएको छ । यो सम्मेलन अन्तर्राष्ट्रिय विकास संस्था-नेपाल, दक्षिण एसियाली महिलाहरूको सञ्जाल-नयाँदिल्ली र हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम-नेपाल काठमाडौंलगायतले आयोजना गरेको हो ।


प्रकाशित मिति : २०८१ बैशाख ३१, सोमबार गते

धेरै पढिएको

ताजा समाचार