विज्ञहरूको चेतावनीः जलवायु परिवर्तनले नेपालमा कुनै पनि बेला ठूलो क्षति हुनसक्छ


विज्ञहरूले जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन्।

विश्व सामाजिक मञ्चमा सहभागी विज्ञहरूले नेपाल कुनै पनि बेलामा जलवायु परिवर्तनको असरका कारण ठूलो क्षति हुने देश भएको भन्दै यसबारेमा समयमा नै आवश्यक ध्यान दिनुपर्ने बताए।

उनीहरूले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि समयमा नै सरकारले स्थानीय तहमा डिजास्टर लर्निङ सेन्टरहरू स्थापना गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै गैरसकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले नेपालले क्लाइमेट फाइनान्स र क्लाइमेट जस्टिसका कुराहरूलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए।

उनले जलवायु परिवर्तनको असरका कारण नेपालमा कुनै पनि बेला ठूलो क्षति हुनसक्ने सम्भावना रहेको भन्दै सरकारले स्थानीय तहमा डिजास्टर लर्निङ सेन्टरहरू स्थापना गर्न आवश्यक भएको बताए।

उनले स्थानीय तहसम्मै सहायता कक्षहरू स्थापनाका लागि नेपाललाई अन्तर्राष्ट्रिय सहायताको आवश्यकता रहेको उल्लेख गरे।

उनले स्थानीय तहलाई अझै बलियो बनाएर उद्धार र राहतको लागि स्थानीय तहमा शक्ति प्रदान गर्न संघीय सरकारसँग पहल गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने,‘विश्वका धनाढ्य राष्ट्रहरूले गरेको औद्योगीकरणले त्यसको असर हामीले अहिले भोगेका छौं। हाम्रो हिउँ अहिले दुई सय मिटरमाथि सरेको छ। अहिलेभन्दा १० वर्षअघि जहाँ तलसम्म हिउँ पर्दथ्यो, त्यहाँ अहिले निरन्तर वर्षा हुन्छ। हिजो लेतेमा राम्रो स्याउ फल्थ्यो। अहिले गएर मुक्तिनाथको जोमसोम भन्दा माथि कागबेनीभन्दा माथि मात्रै राम्रो स्याउ फल्छ।’

उनले अघि भने, ‘क्लाइमेट चेन्जले ठूलो असर पारेको छ। यसको असर गरिब, निमुखा र पछाडि पारिएको वर्ग नै हो। क्लाइमेट फाइनान्स र क्लाइमेट जस्टिसका कुराहरूलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। हामी कुनै पनि बेलामा ठूलो क्षति हुने देशमा छौं। त्यसैले हामीलाई अन्तर्राष्ट्रिय सहायताको आवश्यकता छ।’

यता, केयर नेपालकी प्रतिनिधि मोना शेर्पाले जलवायु परिवर्तनबाट भएको विपद् र जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमा भएको ज्ञान, अनुभव, शक्ति, सीपको प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

उनले स्थानीय स्रोत साधनको प्रयोगबिना प्रविधिको प्रयोग गरेर र राज्यले मात्रै काम गरेर समस्याको समाधान ननिस्किने बताइन्।

उनले स्थानीय तहमा मानवीय सहायताका विभिन्न मञ्चहरूको स्थापना गरी शक्ति सञ्चालन गर्न आवश्यक रहेको पनि बताइन्।

उनले स्थानीय परिवेश बुझेका मानिसहरूको साथ र सहयोगबिना जलवायु परिवर्तनले समाजमा पारेका असरको न्यूनीकरण गर्न नसकिने बताइन्। (न्युज एजेन्सी नेपाल)


प्रकाशित मिति : २०८० फाल्गुन ६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार