१०२ मेगावाटको मध्य भोटेकोशीको सुरुङमा पानी पठाइयो


काठमाडौँ — परीक्षणको चरणमा पुगेको सिन्धुपाल्चोकको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको ७ किलोमिटर सुरुङमा मंगलबारदेखि पानी पठाइएको छ । आयोजनाको बाँध, सुरुङ र पावर हाउसको काम सकिएपछि उत्पादनको तयारीका क्रममा आयोजनाको सबै संरचनामा ‘वेट टेस्टिङ’ सुरु गरेको झन्डै महिना दिन बितेको छ ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीका अनुसार अब दुई–तीन दिनभित्रै सुरुङ भरिनेछ ।

भरिएको पानी खाली गरेर सुरुङको अवस्था हेरेर पानी पुनः प्रवेश गराइने छ । त्यसपछि स्थानीय चाकु बजारको बाँधबाट प्रवेश गराइएको पानी पेनस्टक पाइपमार्फत आयोजनाको बाह्रबिसेस्थित जम्बुमा निर्माण भएको पावर हाउसको मेसिनमा पठाइनेछ । केही दिनभित्रै ‘नन–लोड’ उत्पादन सुरु गर्ने सिवाकोटीले जानकारी दिए । उनले भने, ‘केही दिनअघि पानी पठाउँदा सुरुङको एउटा गेटमा समस्या भएको थियो । त्यसलाई मर्मत गरेर पुनः पानी पठाइएको हो ।’

आयोजनाको पावर हाउसमा तीन वटा मेसिन जडान गरिएको छ भने हाइड्रोमेकानिक्स र इलेक्ट्रोमेकानिक्ससम्बन्धी सबै काम पूरा भइसकेको छ । आयोजना बाँध, सुरुङ, पावर हाउससहित सिभिल संरचनाको काम चिनियाँ र हाइड्रो एवं इलेक्ट्रो मेकानिकलको काम भारतीय ठेकेदारले गरिरहेका छन् ।

चिलिमे जलविद्युत कम्पनी मुख्य प्रवर्द्धक रहेको उक्त आयोजना निर्माण सुरु भएको दशक बितेको छ । कोभिड, भूकम्प, बाढीपहिरो, स्थानीय अवरोध र आयोजनाकै आन्तरिक व्यवस्थापन चुस्त नभएका कारण निर्माणमा ढिलाइ भएको थियो । निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत प्रतिमेगावाट झन्डै २० करोड पुग्ने अनुमान छ ।

२०६८ सालमा आयोजना सुरु गर्दा करिब १३ देखि १४ करोडको अनुमान गरिएको थियो । कम्पनीले ऋणदाता कर्मचारी सञ्चय कोषलाई अहिले दैनिक ४० लाखभन्दा बढी व्याज मात्र तिर्ने गरेको छ । आयोजनामा विद्युत् प्राधिकरण, चिलिमे, प्रभावित वासिन्दा, स्थानीय लगानी कम्पनी तथा सर्वसाधारण शेयरधनीले लगानी गरेका छन् ।


प्रकाशित मिति : २०८० माघ २४, बुधबार गते

धेरै पढिएको

ताजा समाचार