सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न सोमबार बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन सहमति जुटेको छ।
प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को तीन ठूला दलहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन एक मत भएका हुन्।
बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणका लागि संसदीय समितिमा रहेको विधेयकलाई अगाडि बढाउन दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले शीर्ष नेताबीच पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउने सहमति भएको बताए। आउँदो हिउँदे अधिवेशनबाट उक्त विधेयक संसद्मा प्रस्तुत हुने उनले बताए।
सम्बन्धित दलका कानुनविद्समेतलाई राखेर भएको छलफलबाट पीडितकेन्द्रित सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउने दिशामा दलहरू सहमत भएको उनको भनाइ छ ।
सचेतक बर्तौलाले आफ्नो पार्टीले पीडितलाई केन्द्रित कानुन बनाउनुपर्ने अडान राखेको बताए।
‘पीडितकेन्द्रित कानुन बनाउने हो भने एमाले सहमतिसाथ जान तयार छ । प्रधानमन्त्रीले त्यसलाई हिउँदे अधिवेशनमा मिलाएर लैजान तयार छु भन्नुभएको छ,’ उनले भने।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको थियो।

