प्रकाश सपुतको म्युजिक भिडिओ क्लिपको किन विरोध भइरहेको छ? र किन माफी मागे ?


केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा कलाकार प्रकाश सपुत र जुना विश्वकर्माले ‘सुटिङ’ गरेको भिडिओ क्लिप चर्चामा छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडिओ क्लिपको आलोचना गरेका छन्।

उक्त भिडिओ क्लिपमा सपुत र बुढाले काठमाडौंको बसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ। जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा कलाकारहरूले नाचेपछि आलोचना भएको हो।

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवा: सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै कलाकारहरूको आलोचना भइरहेको छ।

यो भिडिओ क्लिप हालसालै खिचिएको भने होइन। यो करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ गरेको भिडिओ क्लिप हो। यो गीतको पूरा भिडिओ छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो।

भिडिओ क्लिपको आलोचना भएपछि हामीले उक्त इनारको महत्व र इतिहासबारे कुमारी घरका चिताइदार (संरक्षक) गौतम शाक्यसँग बुझेका छौं। उनले कुमारीको निजी इनारमाथि कलाकारहरूले अभिनय गरेको भिडिओमा देखिने बताए।

त्यो कुमारीको निजी इनार हो। त्यहाँको पानी कुमारीले प्रयोग गर्दै आइरहनुभएको छ,’ उनले सेतोपाटीसँग भने, ‘मल्लकालीन समयमा कुमारीलाई पानी लिन टाढा जान पर्ने हुँदा त्यहाँ कुमारीकै लागि भनेर इनार खनिएको थियो। हिउँदमा प्राय: कुमारीले त्यही इनारको पानी प्रयोग गर्नुहुन्छ। इनारमा कुमारी घरबाटै ताल्चा पनि लगाइएको छ।’

उक्त इनारको छुट्टै गुठी छ। कुमारीले प्रयोग गर्ने इनार भएको हुँदा वर्षको दुई पटक खोलेर पूजा गर्ने गरिएको उनले बताए। तर अहिले इनारमाथि टेक्ने, चढेर अभिनय गर्नेजस्ता कार्य भएकोले आलोचना भएको उनले बताए।

भिडिओ क्लिप भाइरल भएपछि मात्रै मैले थाहा पाएँ। त्यो पुरातात्विक हिसाबले महत्व बोकेको इनार रहेछ,’ सपुतले सेतोपाटीसँग भने, ‘गीत सार्वजनिक भएको महिनौंपछि यो क्लिप कसरी निस्कियो थाहा छैन। तर हामीबाट गल्ती भएको छ, क्षमा चाहन्छौं।’


प्रकाशित मिति : २०८० मंसिर १९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार