पोखरा । तनहुँको घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटाका २४ वर्षका हस्त राई र ठेगाना नखुलेका ५० वर्षका टोपबहादुर मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीप कुमार हुमागाईँले दिएको जानकारी अनुसार दुवै जनाको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनका अनुसार ३६ घाइते मध्ये नौ जना गम्भीर छन् ।
उनीलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ ।
धरानबाट पोखरा आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस आज बिहान व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवामा दुर्घटनामा परेको थियो ।
बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
दुर्घटनामा ३६ जना घाइते भएकामा केहीको जिल्ला अस्पताल र केहीको रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक हुमागाईँले जानकारी दिए ।