कोशीटप्पुमा गैँडा स्थानान्तरण गरिने,भाले नहुँदा प्रजननमा समस्या


भरतपुर, चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा पोथी गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार असोज १० गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई स्थानान्तरण गर्न लागिएको हो ।

कोशीटप्पु अहिले गैँडाविहीन छ । सरकारले कोशीमा गैँडाको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थानान्तरण गराउन लागेको हो ।

“गैँडा स्थानान्तरणको तयारीमा छौँ,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने , “तोकिएकै मितिभित्र गैँडा स्थानान्तरण गर्ने छौँ ।”

मानिसले हुर्काएर निकुञ्जमा छाडिएका दुई वटा टुहुरा पोथी गैँडालाई स्थानान्तरण गरिने भएको छ ।

चार वर्षकी पुष्पा र साढे तीन वर्षकी अञ्जली निकुञ्जको राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेर हुर्किएका गैँडा हुन् ।

जङ्गलमा आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई अन्दाजी दुई महिना र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरेर कोषका कर्मचारीले सानैदेखि हुर्काएका थिए ।

ती गैँडालाई निकुञ्जले गत वैशाख ३१ गते प्राकृतिक बासस्थानमा छाडेको थियो ।

चितवनबाट लगिने दुवै गैँडालाई कोशीटप्पुको सप्तरीनजिकै पर्ने ‘सप्तरी सेक्टर’ मा ‘इन्क्लोजर’ बनाएर राख्ने तयारी गरिएको छ ।

कोशीटप्पुका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार स्थानान्तरण गरिने गैँडालाई सुरुमा सानो र त्यसलाई बिस्तारै बढाउँदै लगेर प्राकृतिक रूपमा छाडिने योजना रहेको छ । “गैँडा स्थानान्तरण गरेर ल्याउनका लागि ठाउँको तयारी गरिसकेका छौँ,” उनले भने , “हाम्रा लागि गैँडा नयाँ पाहुना हो ।”

मानिससँगको घुलमिलमा हुर्केका पुष्पा र अञ्जली अहिले पनि बारम्बार बस्तीमा निस्किरहन्छन् ।

उनले कोशीटप्पु लगिसकेपछि पनि मानव बस्तीमा ननिस्किऊन् भन्नका लागि थप सतर्कता अपनाउन लागिएको पनि बर्ताए ।

भालेको अभाव

प्रजनन उमेर हुँदै गरेका पुष्पा र अञ्जलीलाई मात्रै स्थानान्तरण गराउँदा त्यहाँ भाले गैँडाको अभाव हुने प्रस्ट छ ।

अहिलेसम्म गैँडा नै नभएको कोशीमा पोथी गैँडा मात्रै रहँदा यसको सङ्ख्या वृद्धिमा समस्या आउने देखिएको छ ।

गैँडाको जीवनचक्रमाथि नै विद्यावारिधि हासिल गर्नुभएका डा. बाबुराम लामिछानेले पुष्पा र अञ्जलीलाई जङ्गलमा छाड्ने समयसम्म भाले गैँडा पनि स्थानान्तरण गर्नुपर्ने बताए ।

चिडियाखानामा गैँडा राख्दा भालेपोथी नै राख्ने गरिन्छ । कोशीमा पनि भालेपोथी पठाउनैपर्ने हुन्छ । उनले अहिलेभन्दा पनि बिस्तारै इन्क्लोजरबाट प्राकृतिक रूपमा छाड्ने बेलासम्म पठाउन सकिने बताए ।

पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् । गैँडाले पाँचदेखि छ वर्षमा बच्चा जन्माउने गरेको छ ।

भाले लागेको एक वर्ष चार महिनादेखि एक वर्ष छ महिनाभित्र बच्चा जन्माउने गर्दछ ।

चार वर्ष पुगेकी पुष्पाले अहिले पनि भाले गैँडाको सम्पर्क खोजिरहेको पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पुष्पा अहिले पनि नियमित भालेसँगैको सम्पर्कमा रहेको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग योजना महाशाखाका प्रमुख हरिभद्र आचार्यले पोथी स्थानान्तरण गरिएपछि बिस्तारै भाले पनि स्थानान्तरण गराउने योजना रहेको बताए ।

“पोथीका लागि भाले चाहिने बाइलोजिकल निड्स हो,” उनले भने , “पहिलो चरणमा पोथी स्थानान्तरण गरिएपछि बिस्तारै भाले पनि स्थानान्तरण गर्छौं ।”

सुरक्षा चुनौती

कोशीटप्पु वन्यजन्तु आरक्षमा चितवनको तुलनामा गैँडाका लागि सुरक्षा चुनौती छ । भूगोल र हावापानीका दृष्टिकोणले चितवनका गैँडाका लागि कोशीटप्पु अनुकूल भएपनि सुरक्षाका दृष्टिले चुनौती रहेको अध्ययनले देखाएको छ ।

कोशीमा गैँडाका लागि बासस्थानको अवस्था अध्ययनकर्ता डा. बाबुराम लामिछानेले चितवनको तुलनामा कोशीमा गैँडाका लागि सुरक्षा चुनौती रहेको बताए ।

“कोशीटप्पुमा मानवीय गतिविधि बढी छ । सुरक्षाका दृष्टिकोणले पनि सुरक्षाकर्मीको परिचालन कमी छ,” उनले भने , “हरेक वर्ष कोशीमा आउने बाढीले पनि यहाँका जनावर असुरक्षित हुने गरेका छन् ।”कोशीटप्पुका प्रमुख संरक्षण अधिकृत यादवले सप्तरी क्षेत्रमा सुरक्षा र बाढीको चुनौती कमी भएको बताउनुभयो ।

अरू गैँडा स्थानान्तरित

गैँडाको मुख्य बासस्थान चितवन राष्ट्रिय निकुञ्जबाट नेपालका विभिन्न निकुञ्ज तथा वन्यजन्तु आरक्षमा अहिलेसम्म एक सय गैँडा स्थानान्तरण गरिसकिएको छ ।

निकुञ्जले पहिलो पटक २०४२ साल माघमा १३ वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरेको थियो । सो निकुञ्जमा अहिलेसम्म चितवनबाट ९१ वटा गैँडा स्थानान्तरण गरिसकिएको छ ।

गोरखापत्रबाट

 


प्रकाशित मिति : २०८० आश्विन ७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार