ललितपुर, ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीले सर्वसाधारणबाट बचत संकलन गरेको रकम अध्यक्ष रवीन्द्र रवीन्द्र चौलागाईंले घरजग्गालगायत निजी ब्यवसायमा लगानी गरेको पाइएको छ ।
ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीले करीब एक वर्ष अगाडि सूचना नै जारी गरी कारोबार बन्द भएको जानकारी बचतकर्ताहरुलाई गराएको थियो।
सहकारीले यसरी सूचना जारी गरी केही दिनको लागि कारोबार बन्द भनेपछि बचतकर्ताहरु अत्तालिएर आफ्नो रकम झिक्न सहकारीमा लाइन नै लागेका थिए । सहकारीका शाखाहरू भक्तपुरको गठ्ठाघर र न्युरोडमा रहेका छन् ।
खाई नखाई बचन गरेको रकम भनेको समयमा झिक्न नपाउँदा रुवाबासी नै चलेको थियो । बचतकर्ताको रकम हिनामिना गरेर चौलागाईंले ललितपुरको भैंसेपाटीमा दशौं करोड बराबरको आलिसान महल खरिद गरेका छन् ।
सहकारीमा बचत गर्नेमा दैनिक मजदूरी गर्ने र अपांग तथा दृष्टिबिहीनहरूको बचत बढी थिए । केही ब्याज थपिने आशामा रहेका बचतकर्तामा अहिले रुवाबासी चलेको छ ।
दृष्टिबिहीन उमेश थापाले देउराली सहकारीमा जम्मा गरेको बचत फिर्ताको माग गर्दै केही समय अगाडि सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीमा पुगे पनि आफूले जम्मा गरेको रकम अहिलेसम्म फिर्ता नपाएको गुनासो गरेका छन्।
लामो समयदेखि प्रलोभनमा पारेर बचतकर्तालाई झुक्याउँद आएको भएपनि अब भने बचतकर्ता प्रलोभनमा नपरि अध्यक्ष चौंलागाई बिरुद्द संगठित भएका छन् ।
बचतकर्तालाई सडकको बासमा पर्याएर अकुत सम्पत्ति आर्जन गर्न अध्यक्षले चौलागाईं सफल भएपनि संगठित भएका बचतकर्ता घुंडा टेकाएरै छाडने अठोटमा छन् ।
अध्यक्ष चौलागाईंले बचतकर्ताले बचत गरेको रकमको सट्टा जग्गा दिने भन्दै सदस्य र नियामक निकायलाई झुक्याउँदै आएको बचतकर्ताले बताएका छन् ।
सर्वसाधारणले दैनिक मजदूरी गरी जम्मा गरेको रकम दुरुपयोग गरी जग्गामा लगानी गरेका सहकारीका अध्यक्षले चौलागाईंले रकम फिर्ता माग्दा थर्काउने गरेको वचतकर्ता सातदोबाटोको भीम श्रेष्ठ र गोदावरीकी लक्ष्मी तामाङले बताए ।
अध्यक्ष चौलागाईंविरुद्ध कानूनी कारबाही अघि बढेपछि पनि यसबाट बच्नका लागि साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई फेरि जग्गाको प्रलोभन देखाउन थालेका छन् ।
काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ बोक्से खाल्डे स्थायी घर भएका चौलागाईंले सहकारीका नाममा रकम संकलन गरेर ७ वर्षमा नै कसरी अखुत सम्पति कमाउन सफल भएका छन् ।
सहकारीको विषयमा जानकारी लिन अध्यक्ष चौलागाईंलाई उनको मोबाइल नम्बर ९८०१८४७५०० मा सम्पर्क गर्दा फोन नै नउठाई सम्पर्क विहीन हुने गरेका छन् ।
अध्यक्ष चौलागाईंले सहकारी टाटपल्टेर ढोकानै बन्द भएको भन्दै बदमासीलाई ढाकछोप गर्न विभिन्न अनलाईन मिडियाहरुलाई मोटो रकम खर्चेर सहकारीको पक्षमा समाचार लेखाउँदै आएको पीडित बचतकर्ताको भनाइ छ ।
सहकारीमा बचत भएको रकम उनले आफ्नो परिवारको नाममा विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
चौलागाईले बचतकर्ताहरुको रकमको दुरुपयोग गर्दै आरआर ग्रुप अफ कम्पनी दर्ता गर्दैं त्यस अन्तरगर्त संचालन हुने गरी देउराली मल्टी पर्पोज को-अपरेटिभ प्रा.लि., श्री पूजा पोल्ट्री फार्म प्रा.लि.,देउराली प्रोप्रटिज प्रा.लि., मुन भेन्चर इन्भेष्टमेन्ट प्रा.लि.,अन्नपूर्ण डिस्टिलरी प्रा.लि., आरआर रिसर्च एण्ड डेभलपमेन्ट नामक कम्पनीहरु खडा गरेका छन् ।
अध्यक्ष चौलागाईले सहायक कम्पनी खडा गरी सर्वसाधारणको बचत रकम चितवन र लामाटरमा जग्गामा रहेको भन्दै आएपनि उनले चितवन जिल्ला भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ विगाहा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेका छन् ।
चौलागाईंले ललितपुर धापाखेलकी मञ्जु भण्डारीको पुरख्यौली घरको २ करोड ४ लाख राखी आफ्नी श्रीमती पूजा खत्रीको नाममा पास गराई रु. १ करोड बहत्तर लाख सहकारीमा राख्नुस मासिक लाखको १० हजार व्याज दिन्छु भनी लोभ देखाएको र हाल आएर चौलागाईंले घर लिलाम गराएको भण्डारीले गुनासो गरेकी छन्।
अध्यक्ष चौलागाईंले मुद्धती बचतकर्ताहरुलाई मासिक रुपमा २० देखि २२ प्रतिशत ब्याज दिने प्रलोभनमा अर्बौं रुपैयाँ सहकारीमा जम्मा गर्न सफल बनेका थिए।