चीनले नेपालको चुच्चे नक्सा अस्वीकार गरेकोप्रति मेयर बालेनको आपत्ति, चीनको पाँचदिने भ्रमण गरे रद्द


काठमाडौं, चीनले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि आफूले चीनको भ्रमण रद्द गरेको काठमाडौं महानगरका मेयर बालेन शाहले दाबी गरेका छन्।

उनको भ्रमणको कुनै चर्चा नभइरहेको अवस्थामा बिहीबार अचानक फेसबुकमा स्ट्याटस लेख्दै ‘चीनले नेपालको चुच्चे नक्सा नराखेको’ भन्दै भ्रमण रद्द गरेको उल्लेख गरे।

सन् २०२३ को संस्करण भन्दै चीनले केही दिनअघि उल्लेख गरेको चिनियाँ नक्सामा नेपालको चुच्चे नक्साको स्थानमा बुच्चे नक्सालाई नै राखिएको थियो।

यसमा अधिकांशको चासो बढिरहेको अवस्थामा मेयर शाहले नेपाली भूभागलाई चीनले नेपाललाई नसोधी भारतको देखाएको बताएका छन्।

उनले भनेका छन्, ‘‘त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’’

यसअघि, भारतले सांस्कृतिक नक्सा प्रकाशन गर्दा बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नक्सा राखेका थिए। त्यसलाई कतिपयले समर्थन र कतिपयले आलोचना गरेका थिए।


प्रकाशित मिति : २०८० भाद्र १४, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार