काठमाडौं, पछिल्लो एक हप्तादेखि देशैभर बदली भएर वर्षा गराएको मनसुनी प्रणाली कमजोर भएको छ ।
पश्चिमी क्षेत्रमा शुक्रबारदेखि नै मौसम सुधार भएपनि पूर्वमा भने आइतबारदेखि मौसम सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ । उदयपुर र सिन्धुलीमा कमला नदीले खतराको तह पार गरेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मनसुनको समय भएकाले कुनै ठाउँमा एक्कासी ठूलो पानी पर्न सक्ने भएपनि अबको केही दिन मनसुनी प्रणाली निष्कृय हुने भएकाले देशैभर लगातार ठूलो पानी पर्ने सम्भावना छैन ।
हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।