.लागू नगरे विश्वविद्यालयको अनुदान घट्ने
.मंसिर पहिलो साता पढाइशुरू गर्नुपर्ने
.भदौमा भर्ना खोल्नैपर्ने
.क्यालेन्डर लागु गर्न राजनीतिक प्रतिबद्धता आवश्यक
काठमाडौं, सबै विश्वविद्यालयमा भदौ १ गतेबाट एकीकृत शैक्षिक क्यालेन्डर लागू भएको छ । विश्वविद्यालय अनुदान आयोगको बोर्ड बैठकले लामो छलफलपछि ११ वटै विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागू गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. देवराज अधिकारीले कक्षा १२ को परीक्षाफल प्रकाशित भएलगत्तै भर्ना खोल्नुपर्ने र मंसिर पहिलो साताबाट पठनपाठन गर्नेपर्ने गरी एकीकृत शैक्षिक क्यालेन्डर लागू गरेको जानकारी दिए ।
आयोगले बोर्डले गरेको निर्णय मन्त्रालयमा पेस गरेको जानकारी दिँदै उनले भने – ‘हामीले मन्त्रिपरिषद्बाटै स्वीकृत गरेर एकीकृत क्यालेन्डर लागू गराउने तयारीमा छौं ।
सबै विश्वविद्यालयका उपकुलपति, रजिस्टार, रेक्टर, डीन, परीक्षा नियन्त्रकसहित बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न सबै विश्वविद्यालयलाई दबाब पर्नेछ ।’
उनले परीक्षा सम्पन्न भएको चारवर्षे कोर्ष सकेको ६ वर्षसम्म पनि परीक्षाफल प्रकाशित हुन नसकेर विद्यार्थीमा परेको मानसिक दबाब नियन्त्रण गर्न, परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुँदा अधिकांश विद्यार्थी विदेशिनुपर्ने बाध्यात्मक परिस्थितिलाई नियन्त्रण गर्न एकीकृत क्यालेन्डर लागू गरिएको जानकारी दिए ।
आयोगले क्यालेन्डर लागु गरेलगत्तै सबै विश्वविद्यालयले यो वर्षको भर्ना खोलिसकेको छ । नेपालका सबै विश्वविद्यालयहरूको शैक्षिक पात्रो एकीकृत बनाउनका लागि भन्दै नयाँ नियम लागू गरेको हो ।
आयोगका अध्यक्ष एवं पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादव लामिछानेले कक्षा सञ्चालनदेखि परीक्षाफल प्रकाशित गर्नसम्म सबै विषय समेटेर क्यालेन्डर लागू भएको बताए ।
उनले भने – ‘सबै विश्वविद्यालयले भदौबाट क्यालेन्डर लागू गरिसकेका छन्, पूर्वाञ्चल विश्वविद्यालयले पनि सोही आधारमा कक्षा सञ्चालन गरेको छ ।’
प्राडा लामिछानेले एकीकृत क्यालेन्डर लागू नगरे अनुदान कटौती हुने जानकारी दिँदै भने – ‘यो विषयमा सबै विश्वविद्यालयका उपकुलपतिले सहमति जनाइसक्नुभएको छ, सोहीअनुसार एकीकृत क्यालेन्डर लागू भइसकेको छ ।’
परीक्षाफल प्रकाशित नहुँदा विद्यार्थीको गुनासो थेग्न नसकेका विश्वविद्यालयले शैक्षिक क्यालेन्डर लागू भएपछि विद्यार्थीमा हौसला बढ्ने बताए ।
यसअघि सबै विद्यार्थी संगठनहरूले विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर माग गर्दै मागपत्र पेस गरेका थिए ।
क्यालेन्डरले स्नातक, स्नातकोत्तर, एमफिल, पीएचडीलगायत उच्च शिक्षा पठनपाठनमा संलग्न शैक्षिक संस्थाहरूलाई बाँध्नेछ ।
क्यालेन्डर लागु भएपछि चारवर्षे कोर्षको चार वर्षभित्रै सबै सेमेस्टरको परीक्षाफल प्रकाशित गरिसक्नु पर्नेछ । क्यालेन्डर लागू नगर्ने विश्वविद्यालयको बजेट कटौती हुनेछ ।
क्यालेन्डर लागू भएपछि समयमै भर्ना र परीक्षाफल प्रकाशित हुने अपेक्षा आयोगको छ । विश्वविद्यालयहरूले समयमै पढाइ र परीक्षाफल प्रकाशित भएपछि उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या घट्ने अपेक्षा गरेको छ ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले एकीकृत क्यालेन्डर पूर्ण रूपमा लागू गराउन राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए ।
उनले भने – ‘विश्वविद्यालय अनुदान आयोगले निर्माण गरी सबै विश्वविद्यालयले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको क्यालेन्डर लागू गर्न दलहरूको मुख्य भूमिका हुनुपर्नेछ । त्यसैले आयोगले सो क्यालेन्डर मन्त्रिपरिषद्बाटै स्वीकृत गर्न पहल गरिरहेको छ ।’
बन्द हड्ताल नगरेर आयोगले कार्यान्वयन गर्न निर्देशन दिएको शैक्षिक टाइमलाइन लागू गरे नेपालको शैक्षिक स्तर थप मजबुत हुने जिकिर गर्दै उपकुलपति प्राडा थापाले भने – ‘यसलाई एकीकृत क्यालेन्डरभन्दा पनि परीक्षा र पढाइको लागि तयार भएको आचारसंहिताभन्दा वेस हुन्छ।’
सबै विश्वविद्यालयका उपकुलपतिले शैक्षिक क्यालेन्डर लागू गर्न राजनीतिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् ।
नेपाल समाचारपत्रबाट