धरानमा सुरक्षा व्यवस्था कडा, सामाजिक सद्भाव खल्बलिन नदिन चौतर्फी पहल


धरान, प्रदेशको नामलाई लिएर आन्दोलन हुने गरेको धरानमा फेरि अर्को विवाद उत्पन्न भएको छ।

प्रदेशको नाम ‘कोशी’ खारेज गरी ‘किरात लिम्बुवान’ राख्नुपर्ने भन्दै निरन्तर आन्दोलन हुँदै आइरहेको त्यहाँ केही मानिसले ‘गोरु काटेर मासु खाएको’ भन्दै विरोधमा प्रदर्शनको तयारी भएपछि सामाजिक सद्भाव खल्बलिने चिन्ता देखिएको हो।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दू समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन्।

हिन्दू धर्मसँग सम्बन्धित विभिन्न संघ संस्थाको अगुवाइमा प्रदर्शन गर्ने’ घोषणा गरिएको छ। देशभरिका सनातनी हिन्दु सङ्गठन भेला हुने भनिएको छ।

प्रशासनिक पहल

सामाजिक क्षेत्रका अगुवाहरूले धार्मिक एवं सांस्कृतिक विवादको बेलैमा समाधान नखोजे नराम्रो परिणाम ल्याउन सक्ने चेतावनी दिएपछि सुनसरी जिल्ला प्रशासनले शनिबारको प्रदर्शनमा रोक लगाएको छ।

कार्यक्रम रोक्न धरानमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले धरान उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण वडालगायतका विभिन्न क्षेत्रमा समेत लागू हुने गरी शुक्रवार मध्यरातदेखि २४ घण्टाको निम्ति निषेधाज्ञा जारी गरेको छ।

धरानमा धार्मिक सम्प्रादायिक शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

उनले भनिन्, ‘‘प्रशासनले तोकिएको क्षेत्रमा सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्‍यालीरभेला­ प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्नरनगराउन आदेश जारी भएको छ।’’

पक्ष र विपक्षमा हुन सक्ने सम्भावित प्रदर्शन रोक्न विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न सङ्घसंस्था र सरोकारवालासँग समन्वय भइरहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल बताउँछन्।

उनले भने, “हामीले शान्ति सुरक्षा कायम गर्न सबैसँग समन्वय गरिरहेका छौँ।” यससँगै धरानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

धरान प्रवेश गर्ने तरहरा, नहडा, झन्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

सद्भावका लागि पहल

धरानमा जातीय र धार्मिक विवादमा फस्ने खतरा भएपछि धरानमा सम्भावित द्वन्द्वलाई लिएर चिन्ता बढेको छ।

धार्मिक तथा सांस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्ने भन्दै राजनीतिक दलले एकता कायम गर्न पहल अघि बढाइएका छन्।

यसैक्रममा शुक्रबार धरानमा सर्वदलियरसर्वपक्षीय सदभाव र्‍याली निकालिएको छ । र्‍यालीमा नागरिक अगुवा, दलका नेता कार्यकर्ता, व्यवसायी, संचारकर्मी, कलाकार लगायत सहभागी भएका थिए ।

सामाजिक एवम् साम्प्रदायिक सद्भाव नबिथोल्न सुनसरीमा क्रियाशील १३ दलले संयुक्त आह्वान गरेका छन्।

दलहरुको आज बसेको बैठकले शनिबार हुने भनिएको प्रदर्शनलगायतका कार्यक्रम स्थगित गर्न पनि आयोजकलाई अनुरोध गरेको छ ।

बैठकपछि दलहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात् गर्दै सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्‍याउन गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’’

धरानका चार जना पूर्व नगर प्रमुखले पनि विरोधका सबै कार्यक्रम रोक्न आग्रह गरेका छन्। एक संयुक्त विज्ञप्तिमा भनेका छन्, “एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव खलबलाउने काम यसअघि कहिल्यै भएको छैन।

वर्षौँदेखिको आपसी सद्भाव, भाइचारा र एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्दर्य हो, विशेषता पनि हो।”

धरानका वर्तमान नगरप्रमुख हर्क साम्पाङ राईले पनि ‘आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न’ अपिल जारी गरेका छन्।

उनले भनेका छन्, “सामाजिक एकता र जातीय सद्भाव भाँड्ने कृत्य नगरौँ, नगराऔँ।”

विभिन्न राजनैतिक दल, संघ–संस्था लगायतका सरोकारवाला पक्षहरूसँग छलफल आयोजना गरेर ‘वर्षौँदेखि कायम जातीय एवम् धार्मिक सद्भाव खलबलिन नदिने प्रयास गरिरहेको’ पूर्व नगर प्रमुख तिलक राई बताउँछन्।


प्रकाशित मिति : २०८० भाद्र ९, शनिबार गते

धेरै पढिएको

ताजा समाचार