काठमाडौं, मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले सचिव तथा सहसचिवलाई कार्यालय समयमा विभिन्न गोष्ठी, एनजीओ र आईएनजीओको कार्यक्रममा जान निषेध गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका बसेको सचिवहरूको नियमित बैठकले सचिव सहसचिवलगायतका सबै कर्मचारीहरूले कार्यालय समयको पूर्ण सदुपयोग गर्नुपर्ने र सो समयमा बाह्य काममा जान नपाइने निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार अब सचिव सहसचिवहरू कार्यालय समयमा विभिन्न खालका गोष्ठी सेमिनार तथा एनजीओको कार्यक्रममा जान नपाइने गरी निर्णय गरिएको हो ।
हाल विभिन्न मन्त्रालय र निकायमा सचिव तथा सहसचिवहरू कार्यालय समयमा मन्त्रालयमा भेट्नै मुस्किल हुने गरेको गुनासो आइरहेको थियो ।
मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकले सो गुनासोको सम्बोधन गरेको बताइएको छ ।
यसै गरी सचिव बैठकले सेवाग्राहीको गुनासो सम्बोधन गर्न र उनीहरूलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न सबै मन्त्रालय र कार्यालयमा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।
यसै गरी सचिव बैठकले आगामी २२ भदौमा हुने निजामती दिवसलाई भव्य बनाउने र त्यसका लागि तयारी समितिसमेत गठन गरेको छ ।
यस्तै, सचिव बैठकले मन्त्रालयमा रहेका अनावश्यक सफ्टवेयरको व्यवस्थापन गर्ने, ईपीजी सञ्चालन निर्देशिकालाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।
यसै गरी केन्द्रीय स्तरमा रहेका र खारेजी गर्नुपर्ने निकायको अध्ययन गरी त्यसको अभिलेखीकरण गरी तत्काल खारेजी प्रक्रिया अघि बढाउने निर्णयसमेत सचिव बैठकले गरेको छ ।
यसै गरी सो बैठकले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुममार्फत गरिने अनुगमनलाई अझै प्रभावकारी र व्यवस्थित बनाउने, हरेक मन्त्रालय र निकायको कार्यप्रणालीलाई सरल बनाउने निर्णय गरिएको छ ।
स्रोतका अनुसार प्रत्येक महिनाको पहिलो सोमबार बस्ने गरिएको सचिव बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्ने भए पनि ती निर्णयहरू कार्यान्वयनमा भने समस्या देखिँदै आएको छ ।
सचिवहरू आफैंले गर्ने निर्णयको कार्यान्वयन आफैंले नगर्ने गरेको गुनासो कर्मचारीहरूले नै गर्ने गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि सचिव बैठकको निर्णय कार्यान्वयनको लागि प्रभावकारी अनुगमन संयन्त्रसमेत बनाउन नसकेको देखिएको छ ।