काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले गिरिबन्धु टी–स्टेट जग्गाबारे अनुसन्धान गर्न आवश्यक भएमा सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा बुधबार संसद् भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए ।
उनले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद पनि दिए । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गरे ।
उनले mभने , ‘म सरकार र सत्तापक्षलाई धन्यवाद भन्छु, उहाँहरू लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो ।
हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा थियो ।’ सुन तस्करीको काण्ड सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस् भनेर आफूहरू माग गरेको उनले बताए ।
सुन काण्डमा निर्दोष पर्न नहुने र दोषी उम्किउन नपाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।
उच्चस्तरीय छानबिन समिति गठनमा सरकारले समयमा मन्जुर नगरेकाले केही दिन संसद् बैठक अवरुद्ध भएको उनको भनाइ छ ।
गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’
अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरू रोक्नेगरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताए ।