यज्ञमती र चखुँचाखोला अब पुरानै स्वरूपमा, महानगरले आजदेखि डोजर चलाउने


काठमाडौं, बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ।

काठमाडौँ महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको हो।

महानगरको टोली बिहीबार पुरिएको खोला खोल्न गए पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन। आज शुक्रबार बिहानदेखि चखुँचाखोला खोल्ने तयारी महानगरले गरेको छ। का

काठमाडौँ महानगरप्रमुख बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबिच बिहीबार दिउँसो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको छ।

नगर प्रमुख अधिकारीले भने, “काठमाडौँ महानगर प्रमुख बालेन शाह र मैले छलफल गर्यौँ। खोला खोल्ने विषयमा सहमति भयो।

जहाँसम्म खोला पुरिएको छ, त्यहाँसम्म खोल्ने भन्ने सहमति भयो तर काम सुरु गर्न लाग्दा वडाध्यक्षहरूको असहमतिले काम रोकियो। उहाँहरू र हाम्रो कुरा मिलिरहेको छैन।”

जसरी पनि खोला खोलिने

काठमाडौँ महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवन लामाले शुक्रबारदेखि यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउने र खोला कायम गर्ने काम थालिने बताए।

उनले काठमाडौँ महानगर प्रमुख शाह र बुढानीलकण्ठ नगर प्रमुख अधिकारी शुक्रबार कपनमै आएर छलफल गर्ने र काम अघि बढाउने सहमति भएको जानकारी दिए

उनले भने, “प्रमुखहरूको छलफलमा सीमाङ्कन, रेखाङ्कन र नापजाँच गर्ने सहमति भएको छ। तीन वटा नक्सामध्ये दुई वटामा खोला देखिन्छ।

हालसाबिकको नक्सामा खोला नदेखिएकाले यस विषयमा नापी कार्यालयसँग पनि आवश्यक परामर्श गरिने छ।”

वडाध्यक्ष लामाले शुक्रबारबाटै खोला खोल्ने काम अघि बढ्ने बताए । उनले नगर र महानगरका खोला किनारका नागरिकले जग्गाको धनीपुर्जा ल्याउने र आवश्यक निर्णय लिएर काम थालिने बताए ।

बुढानीलकण्ठ नगर प्रमुख अधिकारीले पनि सहमति गरेर काम अघि बढाउने बताए। उनका अनुसार शुक्रबार बिहान दुई पक्षबिच छलफल हुने छ।

काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने जानकारी दिए।

उनले प्रकृतिमाथिको दोहनलाई हटाउन र बाढीको समस्या समाधान गर्न बुढानीलकण्ठका जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने बताए ।

यज्ञमती र चखुँचाखोला खोल्न बिहान करिब ९ बजे पुगेको महानगरको टोलीलाई बुढानीलकण्ठ नगरपालिका प्रमुख अधिकारी, वडा नं. १० का अध्यक्ष नवराज भट्टराईसहितले अवरोध गरेका छन् । वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराईले भने सहमतिमै अघि बढ्नुपर्ने बताए ।

वडा नं. १० का अध्यक्ष भट्टराईले नगर प्रमुखसँग विवाद गर्दै डोजर चलाउन अवरोध गरेका छन्। उनिसहित समूहको अवरोधका कारण काम अघि बढ्न नसकेपछि साँझ महानगरको टोली फर्किएको हो।

२० वर्षमै खोला बन्यो ढल

विसं २०६० भन्दाअघि खोलाको बहाव मिचेर संरचना बनाएपछि कपन र सरस्वतीनगर डुबानमा पर्ने गरेको हो।

भूमाफियाले खोला मिचेर अव्यवस्थित आवास क्षेत्र बनाएपछि काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलालाई ढलमा परिणत गरिएको छ।

स्थानीय राजनीतिज्ञ शेखर आचार्यले यज्ञमती खोला जगडोल पार्कको देब्रेतर्फबाट बग्ने र घुमेर कपन आनीगुम्बा हुँदै कपन प्रहरी चौकी, आरम्भ चोकमा अर्को खहरेसँग मिल्ने बताए ।

उनका अनुसार अर्को खहरे तीनचुली, आरुबारी हुँदै रामहिटी सुबीगाउँ हुँदै फैकाचोकबाट तेन्जिङचोकदेखि आरम्भचोकबाट तलतिर आएपछि चखुँचाखोलामा परिणत भएको छ।

उनले २०५० सालपछि तात्कालीन कपन गाविसमा बस्ती विस्तार तीव्र भएको र क्रमशः खोला पुर्न भूमाफिया नै अघि सरेको बताए।


प्रकाशित मिति : २०८० श्रावण २६, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार