काठमाडौं, सुशासनको चर्को अभिव्यक्ति दिँदै आएको नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले विवादास्पद पृष्ठभूमिका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेर जग हँसाएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारमा संलग्न भएको पाइए आफ्नै नेताहरूसमेत नछाड्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सेलाउन नपाउँदै वैदेशिक रोजगारीमा ठगी, हातहतियार खरखजनासम्बन्धी विवादमा मुछिएका माओवादी केन्द्रीय सदस्य लामालाई नियुक्त गरेर सुशासनको जग हँसाएको हो ।
मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी लामालाई सुम्पिएको हो ।
पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका माओवादी नेता लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको सरकारले जनाएको छ ।उनको नियुक्तपछि सरकारको चौतर्फी आलोचना भएको छ ।
सार्वजनिक रूपमा नैतिक पतन भएको र भ्रष्टाचार तथा हातहतियार तथा खरखजाना मुद्दामा विवादित लामालाई सरकारले शान्ति क्षेत्रको रूपमा रहेको लुम्बिनी विकासकोषको नेतृत्व दिएर वर्तमान सरकारले भ्रष्टाचारलाई प्राथमिकता दिएको सरकार समर्थक र विपक्षी दलहरूले टिप्पणी गरेका छन् ।
सरकारको प्रमुख साझेदार दल नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामाको नियुक्ति खारेज गर्न माग गरेका छन् ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनीको विकासका लागि गठित निकायमा भ्रष्टाचार र बैंकको लकरमा गोली राख्नेलगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्त खेदजनक भएको उनले बताए । पाण्डेले भने– ‘यस प्रकारको अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताविक कार्य सञ्चालन गर्नसक्ने सत्पात्रको नियुक्ति गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु । सरकारले उक्त निर्णय सच्याउँछ भन्ने विश्वाससमेत लिएको छु ।’
अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा लामाले २०७२ फागुन ३० मा नेपाल इन्भेस्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली राखेको समेत फेला परेको थियो ।
लकरमा सुनचाँदीजस्ता बहुमूल्य धातु नभई पेस्तोलका गोली राख्ने व्यक्ति ल्यारक्याल लामालाई प्रधानमन्त्री दाहालले विश्वका शान्तिप्रेमीहरूको पवित्र केन्द्र लुम्बिनीको नेतृत्व सुम्पिएको भन्दै सामाजिक सञ्जाल प्रयोग गर्दै आएका आम मानिसहरूले प्रचण्डलाई खुइल्याउने गरी स्ट्याटस पोस्ट गरेका छन्।
को हुन् ल्यारक्याल लामा ?
सिन्धुपाल्चोकको हेलम्बुमा जन्मिएका ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो । आपराधिक पृष्ठभूमिका लामाले राजनीतिक संरक्षणमा विभिन्न गतिविधिहरू गर्दै आएको चर्चा बेलाबेलामा हुने गरेको छ ।
तर, लामाले लुम्बिनी नै आफ्नो जन्मस्थान भएको र सोही क्षेत्रबाट पार्टी राजनीति गर्दै आएकाले सोही क्षेत्रबाट नागरिकता सिफरिससमेत गर्न खोजिरहेका छन् ।
तात्कालीन समयमा लामासँग तिब्बत र नेपालको दोहोरो नागरिकता भएको पाइएपछि अर्थ राज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।
शुरूमा नेपाली कांग्रेसबाट नियुक्ति खाँदै उनी नेकपा एमाले बनेर १० वर्षअघि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
२०५८ सालमा नेपाली कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका लामा उक्त पदावधि सकिएलगत्तै एमाले छिरे ।
२०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भए । नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए ।
०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद भए ।
२०७२ फागुन ३० गते लामा हातहतियार तथा खरखजानाको आरोपमा पक्राउ परे । त्यसबेला जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले पाँच दिनसम्म थुनामा राखेर छाडिएको थियो ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा जाँच गर्दा बन्दुकको १४ थान गोली बरामद भएपछि उनी त्यहीँबाट पक्राउ परेका थिए ।
त्यस्तै, २०७२ सालमै वैदेशिक रोजगारीमा ठगीको आरोपमा पक्राउ परेलगत्तै ३० लाख धरौटी बुझाएर रिहा भएका लामालाई विभागका अधिकारीले बयान लिएर दुई दिनमै माथिल्लो आदेश भन्दै धरौटीमा छाडिएका थिए ।
राज्यमन्त्रीबाट राजीनामा दिएपछि छानबिन गर्न पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको नेतृत्वमा न्यायिक आयोग गठन भई उक्त समितिले प्रतिवेदनसमेत बुझाएको थियो।
उक्त प्रतिवेदन गृह र प्रधानमन्त्री कार्यालयबाटै गायब गराएर हालसम्म सार्वजनिक गरिएको छैन। बौद्ध धर्मगुरु दलाई लामाका विशेष दूत लोङ्गी ग्यारी र हलिउड अभिनेता रचिर्ड गेरसँग पनि लामाको बाक्लो सम्पर्क रहेको उक्त प्रतिवेदनमा भनिएको थियो।
नेपाल समाचारपत्रबाट