सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको धाप क्षेत्र वरपर भारी वर्षा भएको छ । बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकको धाप क्षेत्र वरपर रातभर ठूलो पानी परेको हो ।
गएराति सिन्धुपाल्चोकको धापमा मात्रै ९५ मिलिमिटर पानी परेको छ । मेलम्ची र इन्द्रावतीमा बाढीको चेतावनी जारी भएको छ ।
यस्तै मेलम्चीमा ४५, चौतारमा ४२, दुवचौरमा ४७ र भोताङमा ३३ मिलिमिटर पानी परेको छ । गएराति काठमाडौंको कीर्तिपुर र भक्तपुरको नगरकोटमा पनि भारी वर्षा भएको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
राति देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।