एजेन्सी, पाकिस्तानमा एक धार्मिक र्यालीमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको थियो ।
विष्फोटमा परी हालसम्म ४४ जनाको ज्यान गएको र १ सयभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टि गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् ।
बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लामफजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ ।
बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएकालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् ।
विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् ।