काठमाडौ, कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरिएको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउन भाषा परीक्षाको आवेदन माग गरिएको हो ।
इच्छुक नेपाली नागरिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्नेछन् । भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ ।
एक दिनमा चार सिफ्ट गरी परीक्षा सञ्चालन हुने र आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुनसक्ने छ । आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।
भाषा परीक्षा, सीप परीक्षण तथा अन्तर्वार्तामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरूमध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी अनुमानित उत्तीर्ण सङ्ख्या २ हजार ५ सयको अन्तिम नतिजा प्रकाशन गरिने बताइएको छ ।