काठमाण्डौ, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालू आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।
सम्भवतः आज नीति तथा कार्यक्रम सार्वजनिक हुन सक्ने सेबोनका एक उच्च अधिकारीले बताए। ‘आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कुरा छ’, ती अधिकारीले भने, ‘यदि कुनै बाधाअड्चन आइनपरेको खण्डमा भोलि सार्वजनिक हुन्छ।’
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम पत्रकार सम्मेलन वा कुनै औपचारिक कार्यक्रम गरेर भने सार्वजनिक नगरिने ती अधिकारीले बताए।
‘पहिलेजस्तो कार्यक्रम गरेर नीति तथा कार्यक्रम सार्वजनिक हुने छैन’, ती अधिकारीले भने, ‘धितोपत्र बोर्डकै वेबसाइटमा नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ।’
नीति तथा कार्यक्रम नयाँ कुरा खासै नआउने पनि ती अधिकारीले प्रस्ट पारे। ‘नियमित कार्यहरु नै नीति तथा कार्यक्रममा आउनेछन्’, ती अधिकारीले भने।
सेबोनले गत आर्थिक वर्षको नीति तथा कार्यक्रम गत वर्ष साउन १२ गते एक कार्यक्रमको आयोजना सार्वजनिक गरेको थियो।
गत वर्षको नीति तथा कार्यक्रममा धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता, जनशक्ति सबलीकरण, नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगलाई सेबोनले प्राथमिता राखिएको थियो।
लगानीकर्ताको हकहित संरक्षणका लागि धितोपत्रसम्बन्धी कानूनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनुका साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित रेगटेकमार्फत चुस्तदुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने लक्ष्य पनि सेबोनले लिएको थियो।
गत वर्षको नीति तथा कार्यक्रममा बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रुपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने सेबोनले नीति लिइएको थियो।
यिनै विषयवस्तुले चालू आर्थिक वर्ष नीति तथा कार्यक्रममा निरन्तरता पाउने सेबोनका अधिकारीहरु बताउँछन्।