काठमाडौ, बुधबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।
पहाडी भू-भागका केही तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।