नेपालगञ्ज, पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न आपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरू पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा आर्थिक लेनदेन, ठगी, झुक्क्याउने लगायतका घटना बढ्दै गएकोमा सबैभन्दा बढी बैङ्किङ कसुरका घटनाहरू हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जिल्लामा बैङ्किङ कसुरका उजुरी विगतका तुलनामा अहिले धेरै नै बढी आउन थालेको बताए ।
उनले गतआर्थिक वर्ष ०७९/८० मा मात्र जिल्लामा बैङ्किङ कसुरका ३०५ वटा उजुरी परेको बताए । डिएसपी डाँगीले अघिल्लो वर्ष ०७८/७९ मा बैंकिंग कसुरका ७५ वटा उजुरीमात्र परेकोमा गत आवमा त्यसको तीन गुणाभन्दा बढी ३०५ वटा उजुरी परेको जानकारी दिए ।
प्रहरीका अनुसार सो भन्दा पहिले आर्थिक वर्ष ०७७/७८ मा त्यस्ता १४ वटा उजुरी मात्र परेका थिए ।
बैङ्किङ कसुरलगायत अधिकांश आर्थिक अपराधका घटनाहरू समाजमा पनि मिलाइने गरिएकाले त्यस्ता घटना झनै धेरै भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरी प्रवक्ता डिएसपी डाँगीले भने ‘‘रकम लिने र दिनेबीच लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधान नभएपछि पीडितहरू उजुरी बोकेर प्रहरीमा आउँछन्, दुवै पक्षलाई झिकाएर मेलमिलाप गराउने र उजुरीको बारेमा अनुसन्धान गरेर पीडित पक्षलाई न्याय दिने काम गरिरहेका छौँ ।’’
पछिल्लो समय उत्पन्न आर्थिक सङ्कटका कारण लेनदेन तथा बैङ्किङ कसुरका मुद्दा बढेको जनाइएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आर्थिक सङ्कटले पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने बताए ।
उनले आर्थिक सङ्कटका कारण समाजको हरेक वर्ग र समुदाय पीडित बनेकाले त्यसकै कारण पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने आशङ्का गरे ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष ०७९/८० मा ठगीसम्बन्धी ३८ उजुरी परेका थिए भने आर्थिक वर्ष ०७८/७९ मा २४ वटा उजुरी दर्ता हुँदा आव ०७७/७८ मा १६ वटा उजुरी मात्र परेका थिए ।
आर्थिक वर्ष २०७९/८० मा बाँकेमा आर्थिक अपराधसम्बन्धी ३८ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।