काठमाडौ, आज शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ८ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज विभिन्न ठाउँमा ८ घण्टासम्म लोडसेडिङ हुने भएको छ ।
टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ५५ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ । जसकारण काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
पहिलो चरणको सबस्टेसन निर्माण सम्पन्न गर्न टेकु सबस्टेसनको इनकमर- १ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।
निर्माण कार्य बिहान ८: ३० देखि अपराह्न ४: ३० सम्म हुने भएकाले प्रभावित क्षेत्रमा ८ घण्टासम्म लोडसेडिङ हुन सक्ने प्राधिकरणले जनाएको छ ।