काठमाण्डौ, धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार ११.१७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१६५.२४ को विन्दूमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले बढेर ४१०.४६ को विन्दूमा पुगेको छ।
कारोबार रकम हिजोको तुलनामा घटेर सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ। हिजो साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।
बजार जानकार गोविन्दप्रसाद घिमिरे अहिले बजारलाई प्रभावित पार्ने कुनै नराम्रो कुरा नरहेको बताउँछन्। ‘तरलता सहज नै छ’, उनले भने, केही बैंकले निक्षेपको ब्याजदर बढाए पनि त्यो उनीहरुको आन्तरिक कारण हुन सक्छ।’
केही दिनदेखि बैंकिङ सेक्टर पनि चलेको घिमिरेको भनाइ छ। ‘बैंकङ सेक्टर चल्नु भनेको सेयर सस्तो हुनु नै हो’, उनले भने, ‘बैंकहरुको खराब कर्जा पनि ५ प्रतिशतभन्दा माथि नजाने आँकलन पनि हुन सक्छ।’
प्रायःजसो बैंकहरुको १०–१२ प्रतिशत प्रतिफल आउने भएकोले पनि बैंकको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको हुन सक्ने घिमिरेको बुझाइ छ।
मौद्रिक नीतिमा बजारअनुकूल कुनै पनि नीति नआए पनि बजार २००–३०० अंक सहज रुपमा बढ्ने उनको अनुमान छ।
अर्का बजार जानकार निमानन्द कँडेल हिजोआज बैंकिङ सेक्टर बजारमा लिड गरिरहेको बताउँछन्।
किनकि बैंकका सेयर सस्ता र लगानी पनि सुरक्षित हुने भएकोले पनि लगानीकर्ता आकर्षित भएको हुन सक्ने कँडेलको भनाइ छ।
खराब कर्जा घटेर आउने र लाभांशको सिजन पनि सुरु भएकोले बैंकमा चमक आएको हुन सक्छ’, उनले भने।
आउँदो मौद्रिक नीतिमार्फत कर्जाको जोखिम भार घट्न सक्ने र ब्रोकरबाट मार्जिन लेन्डिङको व्यवस्था हुन सक्ने कँडेल बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ४.८३ प्रतिशतले उकालो लागेको हो। बैंकिङ समूह २.३१ प्रतिशतले बढ्दा विकास बैंक समूहमा १.२२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२५ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.९४ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.६४ प्रतिशत, जलविद्युत समूहमा ०.८२ प्रतिशत, लगानी समूहमा ०.३५ प्रतिशत, जीवन बीमा समूहमा ०.४० प्रतिशत, लघुवित्त समूहमा ०.५० प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ८६ लाख ७४ हजार १०९ कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँमा कारोबार भएका छन्।
यो दिन युनाइटेड अजोड इन्स्योरेन्सको सर्वाधिक २३ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको १४ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको १३ करोड ८८ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनानसको ८ करोड ६७ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ४२ लाख रुपैयाँ, कुमारी बैंकको ८ करोड ३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ५६ लाख रुपैयाँ, ज्योति विकास बैंकको ७ करोड २३ लाख रुपैयाँ, प्रभु बैंकको ६ करोड ८८ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ६ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज बिपिडब्लु लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन श्रृजनशील लघुवित्त, सामलिङ पावर र शुभम पावरका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीहरुको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।