कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु


एजेन्सी, दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू-भाग डुबानमा परेका छन् । गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ ।

मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय ६६ जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ ।

सडक भत्किएका छन् भने सवारी साधन बगेका छन् जताततै बाढीको विनाशमात्र दृष्टिगोचर हुन्छ ।

रासस/सिन्ह्वा


प्रकाशित मिति : २०८० असार ३१, आईतवार गते

धेरै पढिएको

ताजा समाचार