दार्चुला, दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ १३१ किलोमिटर छ ।
नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ बाट सञ्चालनमा थियो ।
कोरियाली एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा डबल सर्किटलाई हुने गरी प्रसारण लाइनका टावर संरचनाहरू बनाएको थियो । तर, आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।
नेपाल सरकारको करिब ६० करोड रुपियाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो ।
त्यस क्षेत्रमा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
“चमेलिया जलविद्युत् आयोजनाले प्रसारण लाइन पूर्वाधार निर्माण गरिदिएपछि सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लास्थित खोलानालाहरूमा जलविद्युत् आयोजना निर्माणका लागि ढोका खुलेको छ,” कार्यकारी निर्देशक घिसिङले भने ।
“अब त्यस क्षेत्रमा उत्पादित २५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ, साथै त्यहाँ उत्पादित विद्युत् स्थानीय रूपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर पश्चिम क्षेत्रमा भोल्टेज सुधार हुने छ ।”
चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरूको करिब ११० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाहरूको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ ।
सुदूरपश्चिमका प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा १३२/३३ केभी सबस्टेसन सञ्चालित छ ।
बलाँच सबस्टेसनबाट आएको विद्युत् स्याउले सबस्टेसनबाट डडेलधुरा, दार्जुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा करिब छ मेगावाट विद्युत् खपत हुन्छ ।
स्याउले सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत् माग जाडो र गर्मीमा क्रमशः करिब ८० र २०० मेगावाट हुन्छ । चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४/७५ बाट सुरु गरिएको थियो ।