काठमाडौ, भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्लामा पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ । पहिरोमा पारी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।
सोमबार बिहान १० बजेतिर सिम्लाको क्यारामा आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भीमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए ।
देबबहादुर र भीमाका जेठा छोरा लोकेन्द्र पनि भारतमै उनीहरूसँगै बस्दै आएका थिए । यद्यपि पहिरो जाँदा उनी घटनास्थलभन्दा बाहिर नै थिए ।
‘आर्थिक अवस्था कमजोर भएर ऋण लागेपछि परिवार नै उठेर भारत गएको थियो, जेठा छोरा लोकेन्द्रलाई लिनका लागि यहाँबाट दुईजना मान्छे पठाएका छौँ,’ वडाध्यक्ष खड्काले भने ।
उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको थियो ।