नयाँ ब्रोकरलाई सदस्यता प्रदान गर्ने नेप्सेको निर्णय


काठमाण्डौ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ब्रोकर कम्पनीलाई कारेबार सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।

आज साँझ बसेको नेप्से सञ्चालक समितिले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको हो।

योसँगै सबै मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड कारोबार सदस्य पाउने भएका छन्।

सञ्चालक समितिले तोकिएका मापदण्ड पूरा गरेका सबै नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।

बैठकले नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षण गर्ने निर्णय गरेको पनि उनले बताए।

यसअघि आज बिहान बसेको नेप्से सञ्चालक समितिको बैठकमा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३० इन्डेक्स सञ्चालनको अजेन्डा पेस भएको थियो।

तर, बिहान बसेको बैठकले यी दुवै अजेन्डामा निर्णय गरेको थिएन। सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए।

सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्।

तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर नेप्सेले कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइसकेको छ।

नेप्सेबाट एलओई पाउने नयाँ ब्रोकर कम्पनीमा नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिजमनी वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट छन्।

नेप्सेले अब यी कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरेरमात्रै कारोबार सदस्यता प्रदान गर्नेछ।

 


प्रकाशित मिति : २०८० असार २१, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार