काठमाडौ, घरपालुवा पशुहरुमा देखिने ‘लम्पी स्किन’ रोग महामारीका रूपमा हाल देशभर फैलिएको छ ।
०७९ चैतमा कोशी प्रदेशबाट सुरु भएको सो रोग अहिले मनाङबाहेक देशभरका ७६ जिल्लामा फैलिएको छ ।
यस रोगबाट ३ महिनामा २५ हजार ७ सय ८२ पशु मरिसकेका छन् । ६ लाख ९० हजार ६ सय ९७ पशुमा रोग फैलिएको छ ।
त्यसमध्ये २ लाख ५० हजार ५ सय ८७ पशुमा सक्रिय संक्रमण रहेको पशु सेवा विभागले जनाएको छ ।
लम्पी रोग पहिलोपटक ०७७ असारमा मोरङको सुन्दरहरैँचा नगरपालिकाका गाईहरूमा देखिएको थियो ।
रोग देखिएका सुरुका दुई वर्षमा १६ जिल्लाका २९ पालिकामा फैलियो । २ वर्षमा ३ हजार ३ सय १ पशु संक्रमित भई १३ वटा पशु मरे ।
त्यसपछि ०७९ चैतमा फेरि रोग संक्रमण देखिएको हो । अहिले यो महामारीकै रूपमा फैलिएको छ ।
पशुपालन क्षेत्र संकटमा
पशुपालन क्षेत्र लम्पी स्किनलगायत रोगका कारण संकटग्रस्त हुँदै गइरहेको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार सरकारले लम्पी स्किन रोगको समयमै उपचार, रोकथाम गर्न नसकेमा करिब १ लाख गाईभैँसी मर्न सक्छन् ।
यसले १ खर्ब २६ अर्ब बराबरको आर्थिक क्षति हुने परिषद्ले जनाएको छ । उक्त रकम नेपालको आर्थिक वर्ष ०८०/८१ को प्रस्तावित कुल बजेटको करिब ७.२ प्रतिशत हो ।
नेपालमा गाई ७४ लाख १३ हजार १९७ र भैँसी ५१ लाख ३२ हजार ९३१ छन् । पशुमा यो रोग सर्ने दर अनुमानित २० प्रतिशत हो ।
नेपालको हालको पशु मृत्युदर ३.८४ छ । प्रतिपशु ४९ हजार १३५ नोक्सान हुँदा २७ अर्ब २२ करोड ५० लाख बराबरको आर्थिक क्षति भइसकेको परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार संक्रमित पशुबाट ४८ दिनसम्म उत्पादन आउँदैन । रोगका कारण दूध र मासु उत्पादनमा ह्रास आउने, पशुमा प्रजनन समस्या देखिने ९तुहिने, गर्भपतन हुने, गर्भ नरहने०, छाला उत्पादनमा समेत समस्या आउने हुन्छ ।
निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्छ । रोगका कारण करिब ६ महिनासम्म साँढे तथा राँगा प्रजननमा आउन नसक्ने जानकारहरू बताउँछन् ।
लामो बेतान्तर भई गाईभैंसीको दूध उत्पादनमा ४० देखि ५० प्रतिशतसमेत कमी हुने परिषद्को भनाइ छ ।
यस्तै, बर्खाको समयमा गोरु तथा राँगाहरूको सहयोगमा खेतीपाती गरिने भएकाले संक्रमणको दर उच्च जोखिममा रहेको पशु चिकित्सकहरू बताउँछन् ।
महामारी नियन्त्रणमा काम भइरहेको विभागको दाबी
विभागले भने रोगको महामारी नियन्त्रणका लागि पशुसेवा विभाग, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी परिचान गरेको दाबी गरेको छ ।
रोग नियन्त्रणकै लागि खोप आयात गर्न निजी क्षेत्रलाई आयात अनुमति दिएको र हालसम्म सात लाख ३७ हजार डोज खोप आइसकेको विभागको भनाइ छ ।
विभिन्न जिल्लाका १ लाख ८० हजार ९२२ पशुमा खोप कार्य सम्पन्न भइसकेको पनि विभागले जनाएको छ ।
विभागका अनुसार ०८०/८१ का लागि प्रत्येक पालिकामा महामारी नियन्त्रण गर्न संघीय ससर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको छ ।
पशु सेवा विभागका वरिष्ठ पशुविज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने रोग हो ।
गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको हो । यो रोग टोक्ने झिँगा, भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने डा. ढकाल बताउँछन् ।
लम्पी स्किन रोगबाट संक्रमित भएका गाईभैँसीको दूध बिक्री वितरण नगर्न र नखान डा। ढकालको सुझाब छ ।
हालसम्म पशुबाट मानिसमा यो रोग सरेको नपाइए पनि संक्रमित पशुलाई विभिन्न किसिमका औषधि खुवाइने भएकाले दूध खान नहुने ढकाल बताउँछन् ।
‘यो रोग लागेका गाईभैँसीको दूध धेरै बेरसम्म उमालेर खान त हुन्छ । तर, गाईभैँसीलाई औषधि सेवन गराइने भएकाले दूध नखाएकै बेस हुन्छ,’ डा. ढकालले भने ।
डा. ढकालका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा र कम मधेस प्रदेशमा पशु संक्रमित भएको पाइएको छ । यस्तै, संक्रमणदर उच्च भएझैँ मृत्युदर पनि सुदूरपश्चिममा बढी र मधेस प्रदेशमा कम छ ।
हाल देशभर लम्पी स्किन रोगको अवस्था
लम्पी स्किन रोग बस्तुभाउमा देखिँदा छालामा साह्रो गिर्खा देखिने, उच्च ज्वरो आउने नाकमुख, कल्चौडा, थुनमा घाउ हुने, खुट्टारजोर्नी सुन्निने गोबर तथा पिसाबमा आलो रगत देखिन सक्ने, दाना पानी कम खाने र दूध उत्पादनमा घट्ने हुन्छ ।
डा. ढकालका अनुसार रोगको लक्षण देखिएका पशुलाई गरिने प्राथमिक उपचार निम्नानुसार गर्नुपर्छः
–ज्वरो घटाउनका लागि पारासिटामोल वा मेलक्सिकेम प्रयोग गर्ने
–घाउ चिलाउन कम गर्ने औषधिको प्रयोग गर्ने
–फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलहम प्रयोग गर्ने
–रोगका कारण सिथिल भएको पशुलाई आवश्यकता अनुसार स्लाइन दिने
–शरीरमा गिर्खाको संख्या अत्यधिक भएका पशुमा आइभरमेक्टिन सुई लगाउने
–घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिबायोटिक सुई लगाउने
रोग लागेका बस्तुभाउको हेरचाह कसरी गर्ने ?
–रोग देखिनेबित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने
–ज्वरो आएको पशुलाई आराम गराउने । जोत्ने, गाडा तान्ने काममा नलगाउने
–प्रशस्त मात्रामा सफा पानी खान दिने
–पातलो कुँडो वा नरम घाँस दिने, दाना, पानी राम्ररी नखाने पशुलाई सख्खर पानी खुवाउने
–गोठमा झिँगा, भुसुना, लामखुट्टे लाग्न नदिन गोठ वरपर धुवाँ लगाउने
–आफ्नो गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामूहिक चरन, खर्क, आहालमा नलैजाने ।