बैंकिङ प्रणालीमा दुई दिनमै थपियो रु. १७ अर्ब निक्षेप


काठमाण्डौ, बैंकिङ प्रणालीमा २ दिनको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो।

असार १९ गतेसम्म कुल निक्षेप बढेर ५६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। यो २ दिनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ अर्ब रुपैयाँले बढेको हो।

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि १५ अर्ब रुपैयाँले बढेको छ। गत असार १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार १९ गतेसम्म बढेर ४९ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर देखिएको छ। गत असार १७ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा असार १९ गतेसम्म पनि त्यति नै रहेको छ।

यो २ दिनको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। गत असार १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४३ खर्ब ४ अर्ब रुपैयाँ रहेकोमा असार १९ गतेसम्म घटेर ४३ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ।

असार १९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ८३.२५ प्रतिशतमा झरेको छ। गत असार १७ गतेसम्म औसत सीडी रेसियो ८३.४७ प्रतिशत थियो।

अन्तरबैंक ब्याजदर भने असार १९ गतेसम्म बढेर ४.१४ प्रतिशत पुगेको छ। गत असार १७ गतेसम्म अन्तरबैंक ब्याजदर ३.४२ प्रतिशतमा झरेको थियो।

 


प्रकाशित मिति : २०८० असार २०, बुधबार गते

धेरै पढिएको

ताजा समाचार