काठमाडौ, चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय तामाङको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा निधन भएको हो ।
रोविनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानका रूपमा उनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी बाल्यकालदेखि नै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्याण्ड डीप पर्पलबाट प्रेरित थिए ।
१९९६ मा नेपाल आएका रोविनले लुजा ब्यान्डमा रहेर आफ्नो सांगीतिक करियर अघि बढाएका थिए । उनले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गरे।
सन् २००५ मा यो समूह विघटन भएपछि उनले ‘रोविन एन्ड न्यु रिभोलुसन’ ब्याण्ड स्थापना गरेका थिए । ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता रोविनका गीत युवामाझ चर्चित छन् ।
उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा खलनायकको भूमिका पनि निभाएका छन् ।