काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पछिल्लो समय दिनहुँ जसो फरकफरक ‘स्टन्ट’ गरिरहेका छन्। ‘
सस्तो लोकप्रियता’का लागि ‘स्टन्ट’ गरिरहेको आरोप कतिपयले लगाए पनि धेरै काम प्रभावकारी भइरहेको जनस्तरबाट प्रतिक्रिया छ।
पर्यटन मन्त्रालय मातहतका मुख्य समस्या पन्छाउँदै ससाना विषयमा लोकप्रियता खोजिरहेकोमा मन्त्री किरातीको समर्थन र आलोचना दुवै भइरहेको छ ।
दलबलसहित फिल्मी शैलीमा उत्रिएर अनुगमनमा जानु र क्यामराअगाडि उभिएर आक्रामक अभिव्यक्ति दिनु उनको नियमित काम जस्तो भइसकेको छ।
विषेशगरी मन्त्री किरातीले विमानस्थलमा अनुगमन बढाउँदै आए पनि सेवा प्रभावकारी नभएको यात्रुको गुनासो भने कम भएको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै नेपाल एयरलाइन्समा यात्रुको सामान हराउनु, चोरी हुनु, लगेज फुटाउनु सामान्य हुँदै गएको छ।
मन्त्री किरातीले जतिसुकै निर्देशन दिए पनि विमानस्थलमा कार्यरत कर्मचारीको बानी सुध्रिन सकेको छैन। काम गर्ने शैली परिवर्तन हुन सकेको छैन। यात्रुको सामान हराउने, समयमै नपाउने समस्या समाधान भएको छैन।
केही दिनअघि वैदेशिक रोजगारीबाट फर्किएका छविलाल भण्डारीले ट्विटर ह्यान्डलबाट प्रमाणसहित आफू ठगिएको विवरण पोस्ट गरेका छन्। लगेजका सामान हराएको उनले जानकारी गराएका थिए।
कसले चोर्यो सगुनको सामान ?
पछिल्लो पटक अमेरिकाबाट आएकी एक यात्रुले तीनदिन बित्दा पनि सामान नपाएको गुनासो गरेकी छिन्।
शुक्रबार कतार एअरवेजबाट नेपाल आएकी सगुन पाण्डेले आफ्नो लगेज तीन दिनदेखि नपाएको गुनासो गरेकी हुन्।
उनी डलास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार २७ जुनको राति ११ बजे नेपालका लागि उडेकी थिइन्।
२९ जुन (बिहीबार १४ असार) काठमाडौं आइपुगेकी सगुनले आइतबार साँझसम्म आफ्नो सामान पाएकी छैनन्। उनी कतारको दोहा ट्रान्जिट भएर आएकी थिइन्।
सामान नपाएपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पटकपटक सम्पर्क गरेकी छिन्। आफूले विमानस्थल प्राधिकरण र कतार एयरलाइन्स दुवैलाई निरन्तर फलोअप गरेपनि निराशाजनक प्रतिक्रिया पाएको उनले सुनाइन्।
‘एअरपोर्टमै वा एअरलाइन्समा चोरी भएको हो कि सामान आउन बाँकी भएको भए कहिले आइपुग्ने हो केही जानकारी नपाएको’ उनले बताइन्।
उनले भनिन्, ‘‘विमानस्थल र एअरलाइन्समा मैले फलोअप गरिरहेको छु। तर, सबैले थाहा छैन भनिरहेका छन्।
हरायो, चोरी भयो वा आउन बाँकी छ केही थाहा भन्नेबारे कसैले केही भन्दैनन्। महत्त्वपूर्ण सामान थियो। समयमा पाउन नसक्दा समस्या परेको छ।’’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने यात्रुको सामान नहराउने भन्दै आइपुग्ने आश्वासन दिएको छ।
प्रवक्ता टेकनाथ सिटौलाले भने ‘‘कहिलेकाहीँ ओभर लोडका कारण सम्बन्धित एअरलाइन्सले समयमै नपठाएको हुनसक्छ।
कहिलेकाहीँ ट्रान्जिटमा मान्छेचाँही जाने तर लगेज छुट्ने हुन्छ। यसरी लगेज छुटेमा पछि लिन पाइन्छ। विमानस्थलमा आफ्नो लगेज नआएको रिर्पोट गर्न सक्नुहुनेछ। त्यसपछि ट्रयाक गरेर खोज्ने प्रयास हुन्छ।’’
विमानस्थलमा यात्रुको सामान हराए सम्बन्धित एयरलाइन्सबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था छ। तर, विमानस्थल व्यवस्थापनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने कार्यलाई प्राथमिकता नदिँदा यात्रु मर्कामा पर्ने गरेका छन् ।